धनगढी – कैलालीमा होटेल राति १२ बजेसम्म सञ्चालन गर्ने पाउने व्यवस्था गरिएको छ । होटेल तथा व्यवसाय यसअघि राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका ‘स्तरीय’ होटेल राति १२ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । होटेल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि ‘स्तरीय’ होटेल थप दुई घण्टा सञ्चालन गर्न दिने निर्णय गरिएको हो । प्रशासन र प्रहरीसँग भएको छलफलपछि समयसीमा दुई घण्टा थप गर्ने सहमति भएको कैलाली होटेल व्यवसायी संघका अध्यक्ष केशवराज पाण्डेयले जानकारी दिए ।


पाण्डेयका अनुसार, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कैलालीका १०० वटा ‘स्तरीय’ होटेलका रूपमा दर्ता भएका छन् । प्रदेश सरकारले ‘स्तरीय’ होटेलका निम्ति निश्चित मापदण्ड तोकेको छ । सोही मापदण्डअनुसार दर्ता भएका होटेललाई मात्र नयाँ व्यवस्थाअनुसार राति १२ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।
राति अबेर जिल्ला आइपुग्ने पर्यटक तथा यात्रुका निम्ति नयाँ व्यवस्थाले ठूलो राहत पुग्ने पाण्डेयले बताए । ‘स्तरीय’ बाहेकका अरू होटेल तथा व्यापार व्यवसायमा यसअघि लागु हुँदै आएको राति १० बजेसम्मको समयसीमा नै कायम रहनेछ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रातिको समयमा सञ्चालन गरिँदा हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै होटेल सञ्चालक आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।



















