खाेज्नुहाेस

राष्ट्रपति र प्रधानमन्त्रीद्धारा ‘क्रिसमस डे’ को शुभकामना

Image

काठमाडौँ – राष्ट्रपति र प्रधानमन्त्रीले ‘क्रिसमस डे’ को शुभकामना दिएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले आज दिएको सन्देशमा यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएकी छिन्।

attariya hospital

उनले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।

प्रधानमन्त्रीद्वारा क्रिसमसको शुभकामना

navjiwan hospital

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ।

प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।

रासस