अत्तरिया – डडेल्धुराको नवदुर्गा गाउँपालिका कार्यालयको भवनले स्टक्चरको काम सकिएको छ । वान्चोरामा निर्माणाधिन ४ तले भवनको स्टक्चरको काम सकिएर हाल फिनिसिङको काम चलिरहेको छ ।
सम्झौता अनुसार भवन निर्माणको करिब ६५ प्रतिशत काम सकिएको निर्माण कम्पनी न्यु ड्रायगन जयमा स्वर्गद्धारीका प्रतिनिधि दरेन्द्र थलालले बताए । उनले स्टक्चरको काम सकिएकाले फिनिसिङ अन्तरगत वाल लगाउने, झ्याल ढोका राख्ने, पलास्टर गर्ने लगायतका काम भइरहेको बताए ।

गाउँपालिकाले भवन निर्माणका लागि न्यु ड्रायगन जयमा स्वर्गद्धारी संग ४ करोड ५ लाख ९ हजार १ सय ५८ रुपैयाँमा २०७७ असोज २ गते ठेक्का सम्झौता गरेको थियो । गाउँपालिकाका सव इन्जिनियर तेज बुढाऐरले भवन निर्माणका लागि गाउँपालिकाले ४ करोड ९३ लाख ८ हजार ९ सय ८० रुपैयाँको स्टमेट बनाएको बताए । उनले भवन निर्माणको म्याद २०७९ असार समान्त सम्म रहेको बताए ।
निर्माण कम्पनीका प्रतिनिधि थलालले भवन निर्माणको काम सम्झौता अगाडी नै सक्ने गरी काम भइरहेको बताए । उनले भवनको काम बैसाख भित्र नै सकिने दावी गरे । नवदुर्गा गाउँपालिका साविकका कोटेली, मणिलेक, नवदुर्गा र वेलापुर गाविस मिलेर बनेको थियो ।
नवदुर्गा गाउँपालिका स्थापन भएपछि सुरुमा साविकको मणिलेक गाविस भवनमा कार्यालय संचालन गरिएको भएपनि पछि प्रथम गाउँसभा बैठकले बान्चोरामा गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो ।

बान्चोरामा गाउँपालिका केन्द्र तोकिएपछि टिनको छाना भएका केही भवन निर्माण गरिएका भएपनि त्यसबाट कार्यालय संचालन गर्न समस्या हुन थालेपछि गाउँपालिकाले ४ तले भवन निर्माण गर्न लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिद्धराज शर्माले हालको संरचनाबाट कार्यालय संचालनमा समस्या हुन थालेपछि गाउँपालिकाको भवन निर्माणकार्य अगाडी बढाइएको बताए ।
उनले हाल भवन अभावमा एउटै कोठामा २/३ शाखा राखेर संचालन गर्नुपर्ने अवस्था रहेको बताए । ‘हाल संचालनमा रहेका भवन टिनको छाना भएका सामान्य खालका छन ।
यी साना भवनबाट हाल गाउँपालिकाका सबै शाखा संचालन गर्न पनि समस्या छ’ उनले भने ‘पछि सम्मका लागि गाउँपालिका काम संचालन गर्न सहज होस भनेर गाउँपालिका भवन निर्माण गर्न लागिएको हो ।’
उनले गाउँपालिकाको भवन निर्माण पछि हालका भवनलाई कर्मचारी आवासका रुपमा परिणत गर्न सकिने बताए ।



















