काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अरुका नीतिका पछाडि होइन, आफ्नो नीतिमा अरुलाई हिँडाउन सुझाव दिएका छन् । उनले नेपाली कांग्रेसले सबैलाई साथ लिएर अगाडि चल्नुपर्ने बताए ।

शुक्रबार कांग्रेस महाधिवशेनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले कांग्रेसको साथमा रहेको बताए । ‘हामी सरकारमा छैनौं । प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको संसद्को अङ्ग होइन ? हामी लोकतन्त्रको सवालमा सँगै छैनौं ? हामी लडेका छैनौं ? सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता होला ? नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन । हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अगाडि बढ्नुपर्छ,’ ओलीले भने ।

उनले केही साना दललाई कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर रहेको बताए । ‘सधैँ सुन्छु– सँगै जानुपर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ?,’ उनले प्रश्न गरे ।

















