अत्तरिया – दशैं नजिकिन थालेपछि मनु दमाईको आखाँमा आशु झर्न सुरु भइसकको छ । दशैं पर्व हर्सोल्लासको भएपनि मनु त्यसको अपवाद हुन । पूर्व– पश्चिम राजमार्गको सडक किनारामा बस्ने मनुका लागि दशैं आशुको पर्व बनेको करिब १८ वर्ष पुगिसकेको छ ।
७० वर्षीय मनुको बाल्यकाल भने अहिलेको जस्तो पीडादायी थिएन् । डोटीको सिलगढीमा जन्मेकी मनु ७ बर्षकै उमेरमा बुवा संगै तराई भरेकी थिइन् ।

‘शिलगढीको एक जना नेवारले तराइमा काम गर्न बुवालाई बोलाएका थिए । हामी बुवासंगै तराई आएका थियौं । बुवाले भजनीमा काम गर्न थाले । तर, त्यहाँ भनेजस्तो भएन’ उनले भनीन् ‘त्यसपछि हामी धनगढी आयौं । अनी वुवाले हुलाकमा काम गर्न थाले ।’
त्यसपछि सानै उमेरमा मनूको लालपुरका घनश्याम दमाई संग विवाह भएको थियो ।
‘श्रीमान गाउँ–गाउँमा गएर सिलाई कटाइको काम गर्थे । घर राम्ररी चलेको थियो । श्रीमानले जसोतसो गरेर खैरानामा घरेडी जोडेका थिए । हामी सबै त्यही बस्थ्यौ’ उनले भनीन् ‘तर, १८ बर्ष अगाडी श्रीमान वितेपछि भने मेरा दुःखका दिन सुरु भए ।’
मनुका ४ छोरी र २ छोरा भएपनि १ छोरा र २ छोरीको मृत्यु भइसकेको छ । ‘एउटा छोरो दिनभरी रक्सि खाएर डुल्छ । बुहारीले पनि दुःख दिन थालेपछि घरमा बस्न सकिन ।’
श्रीमान बितेदेखि सडक किनारामा सानो झुपडी बनाएर बसेकी मनु अहिले बृद्धभत्ताको सहारामा जिविको पार्जन गर्दै आएकी छिन । खान, लाउन भन्दा पनि परिवार संग रमाउन चाहना भएपनि उनी बाध्य भएर सडक किनारामा बस्नुपरेको बताउन्छिन् ।


‘४ बर्ष अगाडी त यो छुपडी पनि भत्काईदिएका थिए । त्यसपछि १/२ बर्ष सालको रुख मुनी बसे’ मनुले भनीन् ‘छोरा कहीले काँही भेट्न आएपनि आफूले जोगाएर राखेको बृद्धभत्ता चोरेर लगिदिन्छ ।’
मनुले चाडपर्व आउँदा मृत्यु भएका छोराछोरी, श्रीमानको झन बढी याद आउने बताईन् । ‘म कसरी दशैं आयो भनेर रमाउँ । दिउँदो छोरोले हेर्दैन । राम्रो छोराछोरी यो संसारमा रहेनन्’ आँसु झार्दै मनुले भनीन् ‘यो दशैं नआइदिए हुन्थ्यो ।’
उनले अरु दिनमा सकेको पकाएर खाने गरेको भएपनि चाडपर्व आउन थालेपछि खाना खान मन पनि नलाग्ने बताईन् । ‘खाने भाग्य भएत अहिले यस्तो किन हुन्थ्यो होला’ उनले भनीन् ‘दिने मान्छेले लुगा कपडा पनि दिन्छन । तर, मलाई दिएको कपडा पनि लगाउन मन लाग्दैन ।’
निकै कष्टपूर्ण जिवन यापन गरिरहेकी मनु सडक किनारामा लडेर खुट्टा भाचिएपछि झन पीडा थपिएको छ । उनको ७ महिना अगाडी लडेर खुट्टा भाचिएको थियो ।
‘उपचारका लागि छोरीले १/२ ठाउँ लगेकी थिइन् । तर, केही फरक भएन । छोरीको आर्थिक अवस्था पनि कमजोर भएकाले थप उपचार गर्न सकिएन्’ मनुले भनीन् ‘स्वास्थ्य बिमा बनाए निःशुल्क उपचार हुन्छ भन्ने सुनेर गत महिना स्वास्थ्य बिमा बनाएकी छु । अझै २ महिना कुर्नुपर्छ भनेका छन निःशुल्क उपचार पाउन ।’
उनले दशैमा बृद्धभत्ता आउने भनेपनि अहिले सम्म नआएको बताईन् ।
उनले काम गर्न सक्ने बेला सम्म यसै घरमा बस्ने सोच रहेको बताईन् । ‘जा सम्म हातखुट्टा चल्छन । त्यहाँ सम्म खाउला बनाउला’ उनले भनीन् ‘हातखुट्टा चल्न छाडेपछि म जहर खाएर यसैभित्र मर्ने हुँ । मलाई यहाँबाट कोही नउठाउन भन्ने भगवान जपेकी छु ।’


















