अत्तरिया – २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । त्यही आन्दोलनका क्रममा सुदूरपश्चिमको अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिक पनि ढालिएको थियो । शालिक ढलेपछि लामो समय सम्म कसैले चासो नदेखाएपनि पछिल्ला केही बर्षदेखि शालिक पुननिर्माण गरिनुपर्ने आवाज उठ्दै आएपनि त्यसले मुर्त रुप पाउन सकेको थिएन ।
सोहि बिच सुदूरपश्चिम सरकारले आर्थीक बर्ष २०७७ /७८ को बजेट भाषणमै अत्तरिया चोकमा सुदुरपश्चिममा जन्मिएका बिभिन्न कालखण्डका विभूतीहरुको शालिक राख्ने घोषणा ग-यो । जसमा भिमदत्त पन्त, पहलमान सिङ स्वाँर, दशरथ चन्द, जयपृथ्वी बहादुर सिंहको पूर्ण कदको शालिक राखिने बताइएको थियो । तर, आर्थिक बर्ष सकिदा पनि सो बजेट कार्यान्वय नहुँदा अहिले पुनः अत्तरिया चोकमा राजा महेन्द्रकै शालिक राख्ने भनेर आवाज उठ्न थालेको छ ।

अत्तरिया चोकका राजा महेन्द्रको शालीक राख्न समिति नै गठन गरेर यस क्षेत्रका युवाहरु एकजुट हुन थालेका छन । शनिबार अत्तरियामा रहेको शिव मन्दिर परिसरमा भएको विश्व ऊँकार एकता महाअभियान प्रार्थना सभाबाट चोकमा शालिक राख्न समिति गठन गरिएको छ ।
स्वामी रामानन्द सरस्वतीको संयोजकत्वमा बसेको सभाबाट हरी भट्टराइको अध्यक्षतामा ‘राजा महेन्द्र शाहको शालिक निर्माण अभियान तदर्थ समिति’ गठन गरिएको हो । समितिको उपाध्यक्षमा यज्ञ राज भाट, सचिवमा दुर्गा कुमार पोखरेल सहित ९ सदस्य रहेका छन । समितिमा सदस्यहरु थप गरिने जनाइएको छ ।

शालिक निर्माण अभियान तदर्थ समितिका अध्यक्ष भट्टराइले जनआन्दोलनका क्रममा अज्ञानताबस तोडिएको शालिक निर्माणका लागि अभियान सुरु गरिएको बताए ।

उनले द्धन्द्धकाल र आन्दोलनका क्रममा भत्काइएका अन्य संरचना पुननिर्माण भएपनि शालिक निर्माणमा कसैले चासो नदिएको बताए । ‘शालिक निर्माणका लागि समिति र अन्य सरोकारवालाहरु संग छलफल गरेर योजना बनाउने छौ’ उनले भने ‘अहिले शालिक निर्माणका लागि आर्थिक श्रोतको टुङ्गो लागेको छैन । हामीले बिभिन्न दाता र संस्था संग सहयोग माग्ने छौ । यो बृहत योजना भएकोले हामीले बिभिन्न निकायसंग छलफल गरेर निर्णय लिनेछौ ।’

उनले शालिक कस्तो बनाउने भन्ने बारेमा अहिले कुनै टुङ्गो नलागेको र यसका बारेमा बृहत छलफल गरेर निर्णय लिइने बताए । उनले राजा फालिए भन्दैमा उनको शालिक राख्नु हुँदैन भन्ने बिरोधमा कुनै तुक नभएको बताए । ‘राजाको शालिक राखिनु हुँदैन भनेर बिरोध हुन सक्छ’ उनले भने ‘हामी त्यस्ता बिरोधलाई फेस गर्छौ । हामी वहाँहरुलाई कन्भेन्स गर्छौ ।’
समितिका उपाध्यक्ष भाटले शालिक देशको ईतिहास भएकाले यसको निर्माण गर्न आवश्यक रहेको बताए । उनले ईतिहासलाई जोगाउन आफूहरु समिति गठन गरेर अभियान संचालन गरेको बताए ।
उनले आफूहरु राजाबादी भएर यो अभियानमा नलागेको बताए । ‘यो जमातमा हिन्दु छौ । हामी राजा मान्ने भनेर आएका होइनौ । हामी हिन्दुवादी हौ । हामी देशलाई विखण्डनबाट जोगाउनु पर्छ भनेर लागेका छौ’ उनले भने ‘हामी राजाको पक्ष लिएर मात्रै यो अभियानमा हिडेका होइनौ । हामी इतिहास जोगाउनु पर्छ भनेर आएका हौ ।’
समितिका सचिव पोखरेलले अत्तरिया चोकमा राखिएको शालिक हिन्दुत्वको पहिचान समेत भएकाले यो अभियानमा सबैलाई लाग्न आग्रह गरे । उनले शालिक राखिए पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्ने बताए ।
स्वामी रामानन्द सरस्वतीले समिति बनेपछि यो अभियानलाई विश्वव्यापि बनाउने बताए । उनले अत्तरिया चोकको पार्कलाई सुन्दर बनाउन पार्कमा शालिक अति आवश्यक भएको बताए ।


















