खाेज्नुहाेस

सुदूरपश्चिम समावेशी विद्यालयमा अपाङ्गतामैत्री शौचालय उद्घाटन

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा नवनिर्मित अपाङ्गतामैत्री शौचालयको उद्घाटन गरिएको छ । छठ पर्वको अवसरमा बिहीबार आयोजित चियापान तथा भेटघाट कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्यखेमा बिष्टले शौचालयको उद्घाटन गरेकी हुन ।

navjiwan hospital

प्रदेश सरकारको बजेट विनियोजनबाट निर्माण सम्पन्न भएको उक्त शौचालयको प्रदेश सांसद बिष्टले स्थलगत अवलोकन समेत गरेकी थिइन । शौचालय निर्माणले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई सहज र पहुँचयुक्त वातावरणमा सेवा सुविधा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष तथा गोदावरी नगरपालिका–२ का वडा सदस्य डबल सिंह साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य बिष्ट प्रमुख अतिथि तथा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं समाजसेवी विनोद मल्ल विशिष्ट अतिथि रहेका थिए ।

attariya hospital

कार्यक्रममा कैलाली र कञ्चनपुरका अपाङ्गता अधिकारकर्मी, शिक्षक, कर्मचारी तथा टीकापुरदेखि महेन्द्रनगरसम्मका अपाङ्गता भएका व्यक्तिहरू गरी ४५ जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले आपसी परिचय आदानप्रदान गर्दै छठ पर्वको शुभकामना साटासाट गरेका थिए ।
सोही अवसरमा दृष्टिविहीन संघ कैलालीका नवनिर्वाचित अध्यक्ष जगत चौधरीलाई विद्यालय परिवारले फूलमाला तथा अबिर लगाएर बधाई तथा शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा विशिष्ट अतिथि विनोद मल्लले आगामी मंसिर २ देखि ६ गतेसम्म सञ्चालन हुने युवा स्वास्थ्य महोत्सवबारे जानकारी गराउँदै महोत्सवमा अपाङ्गता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सवालकाविषयमा विशेष प्यानल छलफलसमेत सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

विद्यालयकी प्राध्यापक देवी साउदले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा प्रधानाध्यापक मानबहादुर साउँदले विद्यालयको वर्तमान अवस्था तथा भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन बिध्यालय ब्यवस्थापन समितिका सदस्यअनिल मल्लले गरेका थिए ।