अत्तरिया – कैलाली प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका पटाका तथा विस्फोटक पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा प्रहरी कारबाहीका क्रममा अन्दाजी ४ लाख २२ हजार ५०० रुपैयाँ बराबरका पटाका लगायतका विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको थियो।


प्रहरीले नियन्त्रणमा लिएका ती सामग्री नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता योगेन्द्र तिमिल्सिनाले चाडपर्वका समयमा पटाका तथा अन्य विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनले कसैले घरछेउ वा आफ्नो वरपर पटाका तथा विस्फोटक पदार्थ फेला पारेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन्।

















