खाेज्नुहाेस

फुलवारीमा १५ शय्याको अस्पताल सञ्चालन

Image

धनगढी – ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि धनगढी बजार धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले धनगढीको फुलवारीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा स्थापना गरिएको अस्पतालले फुलवारी तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य सेवा सुरु गरेको हो ।

navjiwan hospital

यसअघि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको स्थानमा आवश्यक पूर्वाधार थप गरी अस्पताल सञ्चालन गरिएको हो । सोमबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरी र वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरेका हुन् ।

attariya hospital

अस्पतालमा पहिलो चरणमा बहिरङ्ग सेवा (ओपीडी), प्रयोगशाला, फार्मेसी र एक्सरे सेवा सुरु गरिएको छ । आगामी चरणमा आकस्मिक तथा अन्तरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको उपमहानगरपालिकाले जनाएको छ । तत्काल ६ जना स्वास्थ्यकर्मीबाट सेवा सुरु गरिएको अस्पतालमा आवश्यक जनशक्ति थप गर्दै सेवा विस्तार गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । निकट भविष्यमै विशेषज्ञ चिकित्सकबाट समेत सेवा उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ ।

नगरप्रमुख गोपाल हमालले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गरिएको बताए । बजारभन्दा केही टाढा रहेको फुलवारी क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनले जानकारी दिए ।

फुलवारीबाटै नगर बस सेवा सञ्चालन, अपाङ्गता भएका नागरिकको घरघरमा पुगेर स्वास्थ्य अवस्था परीक्षण तथा आवश्यक सहायक सामग्री वितरण, क्षेत्र निर्धारण गरी नमुना विद्यालय सञ्चालन र प्रत्येक महिना वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने काम भइरहेको हमालले बताए । ग्रामीण क्षेत्रको समग्र विकासका लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

अस्पताल सञ्चालनमा आएसँगै फुलवारीका स्थानीय बासिन्दामा स्वास्थ्य उपचार सहज हुने अपेक्षा बढेको छ