अत्तरिया – करिब २२ वर्षदेखि मानव सेवामा सक्रिय गणेश जिमी साउद सम्मानित भएका छन् । कैलालीको गोदावरी नगरपालिका-२, अत्तरियामा बसोबास गर्दै आएका साउँदलाई थ्रिडिभिएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेको हो ।

स्वास्थ्य, शिक्षा, अपाङ्गता, असहाय तथा विपन्न नागरिक, दीर्घरोगी, धार्मिक तथा सांस्कृतिक क्षेत्र, रोजगारी र विपद्का कारण समस्यामा परेका व्यक्तिहरूको सहयोगमा साउदले लामो समयदेखि योगदान दिँदै आएका छन् । उनले देशका ७७ वटै जिल्लामा मानवीय सेवाका विभिन्न कार्यमा सहयोग र सहकार्य गर्दै आएका छन् ।

निःस्वार्थ मानव सेवा र सामाजिक योगदानको कदर गर्दै शनिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष दीपक ओझालगायतको उपस्थितिमा उनलाई सम्मान गरिएको हो ।
साउँदको सेवायात्राले समाजमा परोपकार, सहकार्य र सामाजिक उत्तरदायित्वको महत्त्वलाई उजागर गरेको संस्थाले जनाएको छ । उनको योगदानले मानवीय सेवामा समर्पित अन्य व्यक्तिहरूलाई समेत प्रेरणा मिल्ने विश्वास गरिएको छ ।


















