अत्तरिया – बालबालिका राष्ट्रका भविष्यका कर्णधार हुन् । आजका बालबालिकाले प्राप्त गर्ने शिक्षा, संस्कार, अवसर र वातावरणले भोलिको समाज र राष्ट्रको स्वरूप निर्धारण गर्छ । उनीहरूलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर दिनु राज्य र समाजको साझा दायित्व हो । बालबालिकामा लगानी गर्नु भनेको राष्ट्रको भविष्यमा लगानी गर्नु हो । उनीहरूले अहिले सिकेको ज्ञान, सीप र सकारात्मक सोचलाई भविष्यमा देशको विकास र समृद्धिका लागि प्रयोग गर्न सक्छन् । त्यसैले बालमैत्री वातावरण निर्माण गर्दै उनीहरूको अधिकार संरक्षण र क्षमता विकासमा विशेष ध्यान दिनुपर्छ । यही विषयलाई आत्मसाथ गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बाल समृद्धिका लागि एकिकृत विकास परियोजना (हातेमालो) को सुरुवात भएको छ । वल्र्ड भिजन इन्टरनेशनल सँगको सहकार्यमा राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कृष्णपुरमा हातेमालो परियोजना सुरु गरेको हो ।
परियोजनाले बालबालिकाको समृद्धिका क्षेत्रमा काम गर्ने बताईएको छ । यसले बालबालिकाहरुलाई आफ्नै निर्णय लिन, आफ्ना सपना पछ्याउन र भविष्य निर्माण गर्न सक्षम बनाउने अपेक्षा लिएको संस्थाले जनाएको छ । एनएनएसडब्ल्यूएले बुधबार कृष्णपुर नगरपालिकामा परियोजना सम्बन्धी परिचयात्मक बैठक आयोजना गरेको थियो । जसमा परियोजनाले बालबालिकाको समृद्धिका क्षेत्रमा गर्ने विभिन्न क्रियाकलापहरुका बारेमा जानकारी गराईएको थियो । बालबालिकाको दिर्घकालिन कल्याण गर्ने परिकल्पनाका साथ सुरुवात गरिएको परियोजनाले बालबालिकालाई जीवनोपयोगी सिप प्रदान, बालबालिकामाथी हुन सक्ने दुव्र्यवहार न्यूनिकरण सम्बन्धी अभिमुखीकरण, बालबालिका तथा अभिभावकहरुका लागि मनोविमर्श सेवा सञ्चालन लगायतका कार्यहरु गर्नेछ ।

परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै कृष्णपुर नगरस्तरिय बाल सञ्जालका सचिव टेक राज जोशीले परियोजनामा लागुऔषध न्यूनिकरणलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरे । उनले लागुऔषध, बालविवाह, बालशोषण लगायतका विषयहरु बालबालिकासँग नै सम्बन्धित हुने भएकाले उनिहरुकै माध्यमबाट यस्ता विषयहरु समाधान गर्न आवश्यक रहेको औल्याए । त्यसबाहेक उनले बालबालिकाहरुले सिक्ने हरेक कुराहरुमा अभिभावकको महत्वपुर्ण भुमिका रहने भएकाले अभिभावकलाई सचेतना दिने खालका कार्यक्रमहरु ल्याउन पनि आग्रह गरे । उनले नगरमा रहेका बालबालिकाहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरूको वास्तविक अवस्था पहिचान गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनलका कञ्चनपुर जिल्ला संयोजक सुरज शर्माले कृष्णपुरमा बालबालिकाका सवालमा धेरै कार्यहरु भएको बताए । उनले अन्य पालिकाहरुको तुलनामा कृष्णपुरका बालबालिकाहरुको सक्रियता पनि उत्कृष्ट रहेको बताए । उनले चालु आर्थिक वर्षमा पनि बालबालिकाको समृद्धिका सवालमा काम गरिने बताउँदै विगतको तुलनामा बजेट कम भएपनि अपेक्षा र योजना भने बढेको बताए ।


एनएनएसडब्ल्यूएका संस्थागत विकास तथा मानव स्रोत व्यवस्थापक विनोद बिक्रम जैरुले परियोजनाको परिचयात्मक र समिक्षा बैठक सबैको सल्लाह सुझाव र सहयोगका लागि संस्थाले राख्ने गरेको बताए । उनले बालबालिकाका हरेक क्षेत्रमा एकमुष्ट रुपमा काम गर्ने गरी संस्थाले गत वर्षदेखि एकिकृत रुपमा क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताए । उनले नेपाल सरकारले २०३० सम्ममा नेपालमा बालमैत्री स्थानिय शासनको प्रतिबद्धता गरेको र सोही अनुसार संस्थाले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताए । उनले सरकारको प्रतिबद्धताका लागि स्थानिय सरकारहरुले पनि ध्यान दिनुपर्ने बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा सञ्चालन हुने हातेमालो परियोजनामा बालबालिकाको विकासमा अवरोध पु¥याउने विषयहरुमा केन्द्रित रहेर कार्य गरिनेछ । उनले बालबालिकालाई आज गरेको लगानी भविष्यमा देखिने भएकाले बालबालिकालाई केन्द्रमा राखेर लगानी गर्न स्थानिय सरकारलाई अनुरोध गरे ।
यस्तै कृष्णपुर नगरपालिका– १ का वडाध्यक्ष मोहन बस्नेतले संस्थाले कृष्णपुरमा बालबालिकाको समृद्ध विकासका लागि धेरै काम गरेको बताए । उनले बालबालिकाहरुको शैक्षिक, शारिरीक, मानसिक एवम् सामाजिक क्षेत्रमा गरिएको क्रियाकलापकै कारण पछिल्लो समय उनिहरुको दैनिक गतिविधिमा पनि सुधार आएको बताए । उनले वडा नं. १ बाट नै बालमैत्री स्थानिय शासन घोषणाको सुरुवात गर्ने उद्देश्य अनुरुप धेरै सूचकहरु पार गरिसकेको अवस्था रहेको पनि बताए । उनले बाँकी रहेका सूचकहरु पनि पुरा गरेर तत्काल वडा नं. १ लाई बालमैत्री स्थानिय शासन घोषणा गर्न आग्रह गरे । उनले नगरपालिकाले अपनत्व लिएर बालमैत्री स्थानिय शासन घोषणा कार्यलाई विशेष ध्यान दिई छिटो सम्पन्न गर्नुपर्ने बताए ।
कार्यक्रममा कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले कृष्णपुरमा बालबालिकाको क्षेत्रमा हालसम्म गरिएको लगानीको अवलोकन गर्दा खेर गएको अवस्था नरहेको बताईन । उनले नगरमा धेरै जसो बालबालिकाहरु सामाजिक, भौतिक र शैक्षिक क्षेत्रमा विगतको तुलनामा बढी सक्रिय रहेको पाईएको समेत बताईन । उनले बालबालिकाहरुको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आफूले अनुभव गरेको बताईन । ‘भौतिक विकास क्षणिक हो तर बालबालिकाहरुको विकास दिर्घकालिन हुन्छ’ उनले भनिन् ‘बालबालिका भनेका भविष्यका देशका कर्णधार हुन, उनिहरुमा अहिले लगाईएको लगानी भविष्यमा देशको समृद्धिमा देखिन्छ ।’ उनले बालमैत्री स्थानिय शासन घोषणाका लागि नगरपालिका पनि तत्पर रहेको बताईन । उनले आफ्नो कार्यकालमा बालमैत्री स्थानिय शासनको रणनिति बनाउने कार्य सुरु भएकाले यसको घोषणा पनि आफ्नै कार्यकालमा गर्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
संस्थाकी अध्यक्ष माया सार्कीको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजनाको बारेमा संस्थाका कार्यक्रम संयोजक रामेश्वर जैरुले जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका अनुगमन मुल्यांकन अधिकृत मिठ्ठु हुड्केले गरेका थिए ।
















