अत्तरिया – कैलालीको अत्तरियामा बाल अधिकार, संरक्षण तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सिभिन नेपालको सहकार्यमा सुप समावेशी आधारभूत विद्यालयले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूका लागि ‘बाल संरक्षण, बाल अधिकार र मेन्टल हेल्थ (मानसिक स्वास्थ्य)’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिष्णा देवी बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष आरती लुहार प्रमुख अतिथि रहेकी थिइन ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का वडा सदस्य डवल बहादुर साउँद, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, सिभिन नेपाल धनगढीका जिल्ला संयोजक हर्षलाल चौधरी र साइकेट्रिक स्टाफ नर्स ममता धामी लगायतको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मान बहादुर साउँद, ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज जोशी, पूर्व प्र.अ. देवी साउँद, नगर स्तरीय कार्य सञ्जाल गोदावरीका अध्यक्ष लक्ष्मण वि.क. लगायत अभिभावक, वि.व्य.स. सदस्य, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय तथा कार्यक्रमको उद्देश्यबारे प्रधानाध्यापक मान बहादुर साउँदले जानकारी गराएका थिए भने अभिमुखीकरण सत्रमा साइकेट्रिक स्टाफ नर्स ममता धामीले मानसिक स्वास्थ्य सम्बन्धी र सिभिन नेपालका जिल्ला संयोजक हर्षलाल चौधरीले बाल अधिकार तथा बाल संरक्षणका विविध पक्षहरूमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा नजिकिँदै गरेका चाडपर्वको समयमा अपाङ्गता भएकाहरूको यात्रामा सहजिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा ट्राफिक प्रहरी प्रमुख सँग छलफल गरिएको विद्यालयका प्रधानाध्यापक साउदले बताए ।

















