धनगढी – धनगढी उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा रहेको हाम्रो गौशालालाई ट्र्याक्टर हस्तान्तरण गरेको छ । नगर उपप्रमुख कन्दकला रानाले गौशाला व्यवस्थापन समितिलाई ट्र्याक्टर हस्तान्तरण गरेकी हुन् ।
ट्र्याक्टर हस्तान्तरणपछि गौशालाको दैनिक व्यवस्थापन तथा गाईको हेरचाहमा सहज हुने अपेक्षा गरिएको छ । हाम्रो गौशाला व्यवस्थापन समितिका अध्यक्ष यादवकुमार भण्डारीका अनुसार गौशालामा हाल करिब ३ सय ६५ वटा गाई रहेका छन् ।


ती गाईको हेरचाहका लागि ८ जना गोठाला कार्यरत छन् । उपमहानगरपालिकाले ५० वटा गाईका लागि एक जना गोठाला रहने गरी गोठालालाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । गौशालाले आफ्नो आन्तरिक आम्दानीबाट गोठालालाई थप ५ हजार रुपैयाँ दिने गरेको अध्यक्ष भण्डारीले बताए ।
गौशालाले गाईको गोबर र दूध बिक्री गरेर आन्तरिक आम्दानी गर्दै आएको । धनगढी उपमहानगरपालिकाका पशु चिकित्सक डा. समीर ठाकुरका अनुसार उपमहानगरपालिकाले गौशालामा रहेका बिरामी गाईको उपचार तथा आहाराका लागि समेत सहयोग गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा पशु चौपाया व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले करिब ३५ देखि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट मुख्यतः गोठालाको पारिश्रमिकमा खर्च हुने गरेको छ भने बाँकी रकम गाईको आहारा, औषधि तथा हेरचाहमा खर्च हुने गरेको डा. ठाकुरले बताए ।
ट्र्याक्टर हस्तान्तरणपछि गौशालाको व्यवस्थापनमा थप सहज हुने अध्यक्ष भण्डारीले बताए । गौशालालाई ट्र्याक्टर सहयोग गरेकोमा उनले धनगढी उपमहानगरपालिकालाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
















