अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ मा जुवा खेलिरहेको स्थानबाट प्रहरीले बरामद गरेको सरकारी मोटरसाइकल बझाङको जयपृथ्वी नगरपालिका –११ का वडाध्यक्ष सर्जनबहादुर थापाले प्रयोग गर्दै आएको खुलेको छ । प्रहरीले भदौ ३० गते गोदावरी–४ को जङ्गल क्षेत्रमा जुवा खेलिरहेको स्थानमा छापा मार्दा ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । तीमध्ये से १ ब ११८१ नम्बरको सरकारी मोटरसाइकल समेत रहेको थियो ।
उक्त मोटरसाइकल जयपृथ्वी नगरपालिका–११ का वडाध्यक्ष थापाले प्रयोग गर्दै आएको खुलेको हो । थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । जयपृथ्वी नगरपालिका योजना शाखाका प्रमुख विजय रजकका अनुसार उक्त मोटरसाइकल नगरपालिकाको नाममा रहेको छ । जुन वडा नम्बर ११ का वडाध्यक्ष थापाले प्रयोग गर्दै आएका थिए ।

सरकारी मोटरसाइकल जुवाखालमा भेटिएपछि कसले प्रयोग गरेको भनेर व्यापक चर्चा चलेको थियो । वडाध्यक्षले चर्चा केही सेलाएपछि सुटुक्क मोटरसाइकल फिर्ता लगेका हुन । उनले मोटरसाइकल फिर्ता लिनका लागि ३ दिन अघि मात्रै नगरपालिकामा फोन गरेर ब्लु बुक मागेका थिए । नगरपालिकाबाट ब्लु बुक उपलब्ध भएपछि उनले उक्त ब्लु बुक इलाका प्रहरी कार्यालयमा बुझाएर मोटरसाइकल लगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले बताए । उनले मोटरसाइकल मुद्दा नचल्ने भएकाले ब्लु बुकका आधारमा फिर्ता गरिएको बताएका छन् ।

तर जुवा खेलिरहेको स्थानबाट बरामद भएको सरकारी मोटरसाइकल त्यहाँ कसरी पुग्यो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन । मोटरसाइकल वडाध्यक्ष आफैँले त्यहाँ लगेको हो वा अन्य कसैले प्रयोग गरेको हो भन्ने विषयमा खुलाइएको छैन ।
मोटरसाइकल दुरुपयोग भएको विषयमा जयपृथ्वी नगरपालिका नगरप्रमुख चेतराज बजालले आफूलाई कुनै जानकारी नरहेको बताएका छन् । लामो समयदेखि बिरामी भएर कैलालीमै रहेका कारण घटनाबारे जानकारी नपाएको उनले बताए । ‘वडाको मोटरसाइकल दुरुपयोग भएको भन्नेबारेमा मलाई कुनै जानकारी आएको छैन,’ उनले भने, ‘म बिरामी भएर कैलालीमै थिएँ । चार–पाँच दिनअघि मात्रै यता आएको हुँ । अझै कार्यालय समेत गएको छैन । मैले मोटरसाइकल दुरुपयोग भएको बारेमा कसैले जानकारी गराएको छैन ।’
नगरप्रमुख बजालले सरकारी मोटरसाइकल दुरुपयोग भएको पुष्टि भए कानुनअनुसार कारबाही अगाडि बढाउन सकिने बताए । ‘दुरुपयोग भएको भए कानुनअनुसार कारबाही अगाडि बढाउँदा हुन्छ,’ उनले भने । यता, मोटरसाइकल प्रयोग गर्दै आएका भनिएका वडाध्यक्ष सर्जनबहादुर थापासँग घटनाबारे प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल फोन बन्द रहेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार जुवा खेल्ने वा खेलाउने कार्य कसुर हो । तर कुनै सवारीसाधन जुवा स्थलमा भेटिँदैमा त्यसको धनीलाई स्वतः जुवाको कसुरमा अभियुक्त बनाउन मिल्ने हुँदैन । जुवा खेल्ने वा खेलाउने कार्यमा सम्बन्धित व्यक्तिको संलग्नता तथा सवारीसाधन जानीजानी त्यस्तो प्रयोजनमा उपलब्ध गराइएको थियो कि थिएन भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।
यस घटनामा प्रहरीले मोटरसाइकल धनी विरुद्ध मुद्दा नचल्ने भन्दै ब्लु बुकका आधारमा सवारी फिर्ता गरिसकेको छ । तर सरकारी मोटरसाइकल जुवा स्थलमा कसरी पुग्यो र त्यसको प्रयोग कुन प्रयोजनका लागि भइरहेको थियो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
















