अत्तरिया– कैलालीको धनगढीमा नेपाल भारत श्रम आप्रवासनका सवाल विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बुधबार एडब्ल्यूओ इन्टरनेशनल सँगको साझेदारीमा निड्स नेपालले कार्यक्रमको आयोजना गरेको हो ।
निड्स नेपालकी सचिव टिका थापा क्षेत्रीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सांसद तथा सामाजिक विकास समितिका सभापति धर्मराज पाठक रहेका थिए । कार्यक्रममा श्रम आप्रवासनका सवालमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न पालिकाका रोजगार संयोजक तथा सरोकारवाला व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


सहभागिहरुले भारतमा काम गर्नुलाई वैदेशिक रोजगारी नै नमान्ने प्रवृत्तिले गर्दा भारतमा काम गर्न जाने नेपाली श्रमिकहरुमाथी अन्याय भएको औल्याएका थिए । उनिहरुले भारतमा काम गर्न जाने नेपाली कामदारहरुलाई पनि वैदेशिक रोजगारीमा गएका अन्य कामदारहरु सरह नै मान्यता दिनुपर्ने, उनिहरुको लेखाजोखा राख्नुपर्ने र अन्य सेवासुविधाहरु प्रदान गरिनुपर्ने बताएका हुन ।
कार्यक्रमको बारेमा जानकारी दिदै निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले सरकारले भारतमा काम गर्न जाने कामदारहरुमाथी विभेद गरेको बताए । उनले कानुनले नै भारतमा काम गर्न जाने कामदारहरुलाई विभेद गरेको बताए । उनले आम्दानी गर्ने गरी आफ्नो देशको सिमाना छोडी अन्य मुलुकमा जानेलाई आप्रवासी कामदारको रुपमा परिभाषित गरिएको भएपनि भारतमा जाने कामदारको हकमा त्यो लागु हुन नसकेको बताए ।\
कार्यक्रममा प्रदेश सभा सदस्य धर्मराज पाठकले सरकारले जारी गरेका नीति तथा कानुन र कार्यान्वयनको विषयमा जानकारी दिएका थिए । उनले सरकारले आफ्नो देश छोडेर बाहिर गई श्रम गरिरहेका हरेक कामदारहरुलाई वैदेशिक रोजगारीको संज्ञा दिईने भएपनि भारतका हकमा अझै त्यो लागू हुन नसकेको स्वीकार गरे । उनले सरकारले आगामी दिनमा नेपाल भारत श्रम आप्रवासनका विषयमा सरकारले स्पष्ट नीति र योजना निर्माण गर्न पहल गर्ने बताए ।
कार्यक्रममा भारतमुखी श्रम आप्रवासनका सवाल र सम्भावित सम्बोधनका उपायहरुका बारेमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा आप्रवासन विज्ञ डा. दिपकचन्द्र भट्टले प्रस्तुती दिएका थिए । कार्यक्रमको सञ्चालन निड्स नेपालका कर्मचारी विनोद कडाराले गरेका थिए ।

















