बाजुरा – पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउन काम सुरु गरिएको छ । वर्षायाम सुरु भएसँगै असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडकखण्ड सञ्चालनका लागि काम सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरेर सडक खुलाउने काम सुरु गरिएको जानकारी दिए । उनका अनुसार सडकखण्डका विभिन्न स्थानमा पहिरो हटाउने तथा सडक मर्मत गर्ने काम सम्पन्न भएर अबको केही दिनमै सञ्चालन हुनेछ ।

मार्तडी–कोल्टी सडकखण्डका विभिन्न स्थानमा लगातारको वर्षाका कारण पहिरो खस्नुका साथै खोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो ।

सडक बन्द हुँदा पूर्वी उत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगुलगायत जिल्लाका नागरिकले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।
करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडकखण्ड अझै पूर्ण रूपमा स्तरोन्नति हुनसकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको सडक कालोपत्र र स्तरोन्नतिमा भएको ढिलाइका कारण हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुँदा नागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ ।
पूर्वाधार विकास कार्यालय अछामकाअनुसार मार्तडी–कोल्टी सडकमा गत आर्थिक वर्षमा ठेकेदार कम्पनीले काम नगर्दा २० करोड बजेट फिर्ता भएको थियो ।
सडकखण्ड निर्माण तथा स्तरोन्नतिको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले काम नगर्दा गत वर्षमात्र होइन, अघिल्ला वर्षहरूमा पनि ठेकेदारको ढिलासुस्तीका कारण करोडौँ रुपैयाँ बजेट फिर्ता हुँदै आएको छ ।














