खाेज्नुहाेस

निरन्तरको वर्षाले सुदूरपश्चिमका ठाउँ ठाउँमा पहिरो, सडक भासिए

Image

अत्तरिया – शुक्रवार देखि परिरहेको निरन्तरको वर्षाले सुदूरपश्चिमका पनि ठाउँ ठाउँमा पहिरो गएका छन् । वर्षाले प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो जाँदा केही परिवार विस्थापित भएका छन् भने ठाउँ ठाउँमा सडक पनि क्षतविक्षत भएका छन् । धेरै जसो ठाउँमा सडक भासिदा यातायात सञ्चालनमा चुनौती थपिएको छ ।

पहिरोले बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेको रातापानी टोलमा २० भन्दा बढी घर परिवार जोखिममा परेका छन् । निरन्तर पहिरो बग्न थालेपछि रातापानी र तल्लोढोलेका २० भन्दा बढी परिवार पहिरोको जोखिममा परेका स्थानीय डम्मर बोहराले बताए ।

attariya hospital

यस्तै दशरथ चन्द नगरपालिका–४ बबेतमा गाउँमाथिबाट खसेको पहिरोले स्थानीय पार्वती ओडको कच्ची घर पूर्ण रूपमा भत्किएको छ भने सोही ठाउँका महेशराम ओड, नरेशराम ओड, लछीराम ओड, जगदीश ओड र दमन ओडको घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

navjiwan hospital

लगातार वर्षाका कारण विभिन्न जिल्लाका मुख्य तथा सहायक राजमार्ग प्रभावित भएका छन् । कतै पहिरो खसेर सडक अवरुद्ध भएको छ भने कतै सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ । केही स्थानमा रुख तथा ढुंगा खस्दा समेत सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउन सडक विभाग, ट्राफिक प्रहरी तथा स्थानीय तहले समन्वय गरेर काम गरिरहेका छन् । सडक भासिएका र जोखिमयुक्त स्थानमा भने तत्कालका लागि एकतर्फी रूपमा सवारी सञ्चालन गराउने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

ट्राफिक प्रहरीका अनुसार तीन दिनदेखिको निरन्तर वर्षाका कारण कैलालीको गोदावरी क्षेत्रमा सडक भासिएको छ । सडक भासिएपछि उक्त क्षेत्रमा यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । दार्चुलामा पहिरो तथा ढुंगा खस्दा महाकाली राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन् । पहिरो तथा ढुंगा पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ । डडेल्धुराको जोगबुढा–बुडर सडक खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाले सडक आसपासका भिरालो क्षेत्रमा पहिरो खस्ने क्रम बढेपछि सडक सञ्चालनमा समस्या भएको हो ।

यस्तै, अछाम–बाजुरा जोड्ने राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । अछामको चौखुट्टे क्षेत्रमा सडक भासिँदा आवागमन नै प्रभावित भएको छ । डडेल्धुरा–डोटी सडक खण्डमा समेत सडक भासिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । भीमदत्त राजमार्गका विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको थियो । सडकमा ढलेका रुख हटाएपछि अधिकांश स्थानमा यातायात सञ्चालनमा ल्याइएको छ ।

निरन्तर वर्षाका कारण सुदूरपश्चिमका तराईदेखि पहाडी जिल्लासम्म जनजीवन प्रभावित भएको थियो । सडक तथा यातायात सेवामा समेत प्रत्यक्ष असर परेको छ । अब वर्षा क्रमशः कम हुँदै जाने र मनसुन कमजोर बन्ने क्रममा रहेकाले जनजीवन पनि बिस्तारै सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।