कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकीसँग सीमा जोडिएको भारतको बनबासास्थित शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी बन्द गरिएको छ । महाकालीको बहाव शनिवार साँझ ७ बजेसम्म तीव्र रूपमा बढेर १ लाख २ हजार ४ सय ४८ क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द गरिएको हो । महाकालीमा आइतबार बिहान १० बजे पानीको बहाव बढेर १ लाख ७५ हजार ७ सय १६ क्युसेक पुगेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमन रोक्ने गरिन्छ । बहाव दुई लाख क्युसेक नाघेपछि दुई पाङ्ग्रे सवारीसाधन र पैदल आवागमनसमेत रोक्ने अभ्यास छ ।

भारतको उत्तराखण्ड तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण नदीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन कञ्चनपुर प्रशासनले आग्रह गरेको छ । महाकालीको बहाव निरन्तर बढिरहेकाले कञ्चनपुरका नदी तटीय तथा डुबानको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाइएको छ ।
महाकालीसँगै जोगबुढा, चौधर, स्याली, दोदा र मोहना लगायतका नदी तथा खोलानालामा समेत पानीको बहाव बढिरहेको छ । दोधारा चाँदनीका पटराखल्ला, जर्काटोल र कुतियाकबर, भीमदत्त नगरपालिकाका नमुना बस्ती तथा श्रीलङ्का टोल र पुनर्वास नगरपालिकाका सिमरी तथा रातोखालीलगायत जोखिमयुक्त क्षेत्रमा निगरानी बढाइएको छ । शुक्रबारदेखि सुदूरपश्चिमका प्रायः सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


















