बैतडी– बैतडीमा सोमबार बिहान सम्म सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले आईतबार सूचना जारी गर्दै सोमबार बिहान ७ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

प्रशासन कार्यालयको सूचना अनुसार यस अघि आईतबार बिहान ७ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाईएको भएपनि लगातारको वर्षाका कारण एक दिन थप गरिएको हो । शुक्रबारदेखि निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि थप एक दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

शनिबार बिहानदेखि आज बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएकोमा वर्षा नरोकिएपछि सोमबार बिहान ७ बजेसम्मका लागि जिल्लाभर सवारी आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । यस अवधिमा आकस्मिक र अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ । लगातारको वर्षा भइरहेकाले अत्यावश्यक काम बाहेक घरमै सुरक्षित भएर बस्न प्रशासनले आग्रह गरेको छ ।

















