अत्तरिया– दार्चुलाकी गौमती महर ५ दिन देखी सम्पर्क बिहिन बनेकी छिन् । २८ वर्षिया गौमती यही असोज ७ गतेदेखी महेन्द्रनगरबाट सम्पर्क बिहिन बनेकी हुन् ।
भारतमा काम गर्दै आएका उनका श्रीमान शंकर महरका अनुसार माइतीको कोठामा जान्छु भनेर गएकी गौमती हालसम्म पनि सम्पर्कमा आउन सकेकी छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका– १ मा स्थायी ठेगाना भएका शंकरले श्रीमतीलाई विगत १ वर्षदेखी महेन्द्रनगरमा भाडाँमा राखेका थिए । आफूले भारतको दिल्लीमा काम गर्दै आएको भएपनि १४ वर्षको छोराको पढाईका लागि छोरा र श्रीमती गौमतीलाई महेन्द्रनगर बजारमा कोठा भाँडामा राखेको उनले बताए ।

उनका अनुसार यही असोज ६ गते दिल्लीबाट नेपाल फर्किन लागेको भनेर उनले श्रीमतीसँग सम्पर्क गरेका थिए । त्यो दिन कुराकानी भएपनि त्यसपछि भने कुरा हुन नसकेको उनको भनाई छ । ‘मैले दिल्लीबाट आउँदा खेरी मात्रै कुरा गरेको थिए, त्यसपछि कुरा हुन सकेको थिएन’ उनले भने ‘७ गते बिहान १०/११ बजेतिर कोठामा पुग्दा छोरालाई भेटेपनि श्रीमतीलाई भेटिन्, छोरालाई आमाको बारेमा सोध्दा माईतीको कोठामा जान्छु भनेर गएको भनेर भन्यो, माइतीलाई सोध्दा उनिहरुले आफूहरुलाई जानकारी छैन भने ।’
उनले आफू दिल्लीबाट आउने दिन श्रीमतीलाई १८ हजार भारतिय रुपैया पठाएको समेत बताए । ३१ वर्षिय शंकरका दुई छोराछोरी छन् । छोरा आमासँगै कोठामा बस्दै आएको र ९ वर्षिया छोरी दार्चुलामै बस्ने गरेको उनले बताए । माईतीहरु पनि महेन्द्रनगरमा नै कोठा भाँडामा लिएर बसेको उनको भनाई छ । माइतीको कोठामा पनि श्रीमती नगएको थाहा पाएपछि भने उनले पुलिसमा निवेदन दिएका छन् । उनले आफू र श्रीमती बिच कुनै पनि कुरामा मनमुटाव नभएको समेत बताएका छन् । श्रीमतीको खोजीमा भौतारिरहेको शंकरले कसैले देखेमा ९७४४९९६०६५ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

पुलिसमा जाँदा गाली
श्रीमती हराएको निवेदन दिन पुलिस गुहारेका शंकरले त्यहाँ पनि गाली खानुपरेको गुनासो गरे । उनले पुलिसलाई श्रीमती हराएको बारे निवेदन दिने भन्दा उल्टो हप्की र गाली खानुपरेको बताए ।
‘पुलिस चौकीमा श्रीमतीको बारेमा निवेदन दिन जाँदा उल्टो पुलिसले तेरो श्रीमती खोज्ने ठेक्का लिएका छौ ? भन्दै हप्काए’ उनले भने । उनले पुलिसमा निवेदन दिई सकेपछि पनि कुनै जानकारी नआएपछि मिडिया गुहारेको बताए ।
घर आउँदा चोरको सिकार
दिल्लीबाट काम गरेर घर फर्किदा पनि शंकरले चोरको सिकार हुनुप-यो । दिल्लीबाट राती करिब ३ बजे बनबासा पुगेका उनी सोही ठाउँमा होटलमा कोठा लिएर बसे । बिहान चियानास्ता गर्नका लागि कोठा बन्द गरेर बजार छिरेका उनको फर्किदा कोठाको ताला तोडेर सामान चोरी भैसकेको थियो ।
‘राती पुगेकाले कोठा भाँडामा लिएर बसे’ उनले भने ‘बिहान बजारमा चिया खानका लागि निस्केर आधा घण्टा पछि कोठामा जाँदा चोरले कोठाको ताला तोडेर मोबाईल र पर्स चोरी गरेको थियो ।’ उनले कोठामा दिल्लीबाट आउँदा ल्याएको अन्य लगेज जस्ताको तस्तै राखेर चोरले मोबाईल र पर्समात्रै चोरी गरेको बताए । उनका अनुसार पर्समा करिब १२ हजार भारतिय रुपैया रहेको थियो ।


















