खाेज्नुहाेस

सुदूरपश्चिममा आज दिउँसो सम्म जोखिम कायमै

Image

अत्तरिया – सुदूरपश्चिमका विभिन्न क्षेत्रमा शुक्रवार देखि लगातार वर्षा भइरहेको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण यस क्षेत्रका नदी, खोलाहरूमा पानीको बहाव बढेको छ । तर, चेतावनीको स्तरमा भने पुगेको छैन । प्रदेशमा आइतबार दिउँसो सम्म पानी पर्ने जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार शाहले बताए ।

उनले सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछामको केही भूभागमा सतर्कताको अवस्था काटेर जोखिमयुक्त क्षेत्रका रूपमा रहेको बताए । यस्तै बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछामको धेरै जसो भूभागमा चेतावनी स्तरमै जोखिम रहेको बताए ।

attariya hospital
navjiwan hospital

उनले पानी पूर्वबाट सिफ्ट भएर पश्चिम तर्फ लुम्बिनी, सुदूरपश्चिम क्षेत्रमा पुगेको बताए । आइतबार दिउँसो सम्म सुरक्षित रहनु पर्ने अवस्था रहेको उनले बताए । पछिल्लो २४ घण्टामा अछाममा १५६.८ मिलिमिटर पानी परिसकेको छ । अत्तरिया धनगढी क्षेत्रमा १६५ मिलिमिटर पानी परिसकेको छ । भजनी टिकापुर क्षेत्रमा पनि १४०–१४५ मिलिमिटर पानी परेको उनले बताए ।

निरन्तर पानी परिरहेका चुरे, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको उनको भनाइ छ । उनले सुदूरपश्चिमका कुनै पनि नदी चेतावनी स्तरभन्दा माथि नपुगेको बताए । कणाली नदी, पथौरिया नदी, काडा, मोहना, काम्रा, खुटिया नदीमा जल स्तर बढे पनि चेतावनी स्तर पार नगरेको उनले बताए ।

उनले कञ्चनपुरका केही नदीहरूमा भने चेतावनी स्तर नजिक पानी पुगेको बताए । दोदा नदी, दोधारा चाँदनीको जोगबुडा नदी क्षेत्रमा केही डुबान भएको उनले बताए । उनले भने ‘लगातार पानी परिरहेकाले नदी नालाहरूमा जोखिमको तह सम्म पानी पुग्ने सम्भावना भए पनि कम पानी परिरहेकाले बाढी नै आउने सम्भावना भने कम छ ।’