बैतडी – लगातार भइरहेको वर्षाका कारण जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको पछिल्लो मौसमी बुलेटिनअनुसार बैतडी ‘सतर्क रहनुहोस्’ (Be Alert) वर्गमा परेको तथा उत्तर र दक्षिणतर्फका जिल्लाहरू ‘अति जोखिम’ (Red Zone) मा रहेकाले सतर्कता अपनाउँदै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


प्रशासनका अनुसार असोज ९ गते रातिदेखि बैतडीमा निरन्तर वर्षा भइरहेको छ। सोही कारण असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म २४ घण्टाका लागि जिल्लाभर सार्वजनिक सवारीसाधन आवागमनमा पूर्ण रोक लगाइएको हो।
यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। साथै, अन्य सुरक्षा तथा सतर्कतासम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालयबाट जारी हुने जनाइएको छ।
















