खाेज्नुहाेस

कैलाली बहुमुखी क्याम्पसले नवउद्यमी सम्मेलन गर्ने

Image

धनगढी – कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्ने भएको छ। क्याम्पसअन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजना, राष्ट्रिय योजना आयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र विभिन्न स्थानीय तह, बैंक, वित्तीय संस्थाको साझेदारीमा आगामी कात्तिक १३ देखि १५ सम्म सम्मेलन गर्न लागेको हो।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको क्याम्पसले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरेर यही क्षेत्रमा केही गर्ने सोच भएका युवालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको जानकारी दिएको छ। इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा. राजेन्द्रवीर चन्दले युवाहरुलाई उद्यमशीलतामा जोड्न सम्मेलन गर्न लागिएको बताए।

attariya hospital
navjiwan hospital

व्यवसाय लगायत विभिन्न विधामा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न सम्मेलन सहयोगी हुने उनले बताए। स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न चाहने युवालाई ‘मेन्टर सीप’ र उद्यम सुरु गर्न आर्थिक सहयोग पनि गरिने सहप्राध्यापक चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए।

क्याम्पसका अनुसार ७० जनालाई विज्ञहरुबाट प्रशिक्षण दिइनुका साथै व्यवसाय, उद्यम सुरु गर्न विनाब्याजमा दुईदेखि चार लाख रुपैयाँसम्म सहयोग गरिने छ। इन्क्युबेसन सेन्टरका सदस्यसमेत रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले स्नातक गरेका र नवउद्यममा जान चाहने, विदेशमा सीप सिकेर फर्केका र यहीँ केही गर्ने चाहना भएकालाई सम्मेलन उपयुक्त मञ्च भएको बताए।

सम्मेलनमा सहभागिताका लागि स्विकृत गरिने ७० वटा प्रस्तावमध्ये ३५ जना विद्यार्थी र ३५ व्यवसायीबाट रहने क्याम्पस प्रमुख बिष्टले जानकारी दिए। सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. तारादत्त भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्न विश्वविद्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताए।