खाेज्नुहाेस

पञ्चोदयमा निसर्गले स्थापना गर्‍यो प्राथमिक उपचार कक्ष

Image

धनगढी – धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पञ्चोदय माध्यमिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ओआरएस तथा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको आर्थिक सहयोग तथा धनगढी उपमहानगरपालिका–५ को सहकार्यमा स्थापना गरिएको कक्षको निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले रिबन काटेर उद्घाटन गरेका हुन्।

attariya hospital
navjiwan hospital

विद्यालयमा विद्यार्थीलाई गर्मीका कारण हुने डिहाइड्रेसन, कमजोरी, चक्कर आउने, झाडापखाला तथा सामान्य चोटपटकजस्ता स्वास्थ्य समस्यामा तत्काल प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले कक्ष स्थापना गरिएको हो। आकस्मिक स्वास्थ्य समस्या देखिएमा प्रारम्भिक उपचारसँगै आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउन कक्ष उपयोगी हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा निसर्ग हस्पिटलका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, माइक्रोबायोलोजिस्ट डा. राजेन्द्र महर, धनगढी उपमहानगरपालिका–५ का वडा अध्यक्ष गजेन्द्र शाही, विद्यालयका प्रधानाध्यापक हरिश ओझालगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।

निसर्ग हस्पिटलले उपचार सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय तथा विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। अस्पतालले स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना तथा विपद्का समयमा सहयोगलगायत सामाजिक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ।

विद्यालयमै प्राथमिक उपचार कक्ष स्थापना भएपछि विद्यार्थीलाई आकस्मिक अवस्थामा सहज रूपमा स्वास्थ्य सहायता उपलब्ध हुने तथा विद्यालयमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।