कञ्चनपुर – भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएको तीन साता बितिसक्दा पनि यहाँका २६ जनाको अवस्था अझै अज्ञात छ । कामको सिलसिलामा रसुवा गएका कञ्चनपुरका २६ जनाको अवस्था अझै अज्ञात रहेको हो ।
बेपत्तामध्ये सबैभन्दा बढी भीमदत्त नगरपालिकाका ८ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, कृष्णपुर नगरपालिकाका ५ जना, वेदकोट र बेलौरी नगरपालिकाका ३/३ जना र लालझाडी गाउँपालिकाका १ जना बेपत्ता छन् ।


जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धर्मराज उपाध्यायले बेपत्ताको डिएनए परीक्षणका लागि परिवारका सदस्यबाट नमुना सङ्कलन गरिएको बताए ।
महाकाली प्रादेशिक अस्पतालबाट बेपत्ता परिवारका सदस्यको नमुना सङ्कलन गरिएको सूचना अधिकारी उपाध्यायले बताए । सङ्कलित नमुना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाइएको छ ।
जिल्लाबाट २२ वर्ष उमेर समूहदेखि ५५ वर्ष उमेरसम्मका कामदार बेपत्ता छन् । बेपत्ता परिवारका सदस्यले जीवित नभए मृत शरीर खोज्न सरकारसँग आग्रह गरेका छन् ।

















