धनगढी– सुदूरपश्चिममा सडक, पुल तथा खानेपानीका एक हजार बढी आयोजनाहरु अझै अधुरा रहेका छन् । प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले तयार पारेको आर्थिक वर्ष २०७४/०७५ देखि २०८२/०८३ सम्मको स्थिति विवरण अनुसार प्रदेशभर सडक, पुल र खानेपानीका १ हजार ३४३ आयोजनाहरु अझै सम्पन्न हुन नसकेका हुन् ।
प्रदेशको विवरण अनुसार प्रदेशभर सञ्चालनमा रहेका १९३ वटा सडक तथा पुलका बहुवर्षीय ठेक्का र १ हजार १५० खानेपानीका आयोजना अझै सम्म सञ्चालन हुन सकेका छेनन् ।जसमध्ये वर्षौंअघि ठेक्का लागेका ३० वटा सडक तथा पुल निर्माणका ठेक्का अझै अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ । पटक–पटक म्याद थपिए पनि निर्माण व्यवसायीले कामलाई गति नदिँदा ती आयोजना ‘रुग्ण ठेक्का’का रूपमा पहिचान भएका छन् । मन्त्रालयका अनुसार रुग्ण ठेक्कामध्ये ६ वटा पुल र २४ वटा सडक निर्माणसँग सम्बन्धित छन् । यी ठेक्का २०७६ देखि २०८० सम्म विभिन्न पूर्वाधार विकास कार्यालयमार्फत लगाइएका थिए ।

पुल तर्फको रुग्ण ठेक्कामा कैलालीका अण्डैया पुल, चौमाला पुल र सुर्मीनाला पनि रहेका छन् । त्यस्तै बाजुराको मालागाड पुल, कञ्चनपुरको खनियाखोला पुल तथा डडेल्धुराको रंगुनखोला पुल पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ ।

सडकतर्फ कैलालीको मालाखेती–ओलानी–बान्द्रेखाल–फल्टुडे सडकका दुई खण्ड, घोडाघोडीको सितलपुर–सिमली सडक, दार्चुलाको तपोवन–निम्ठा–मुरै–बिनायक सडक तथा बाजुराको मार्तडी–कोल्टी–पिलुचौर सडकका दुई खण्ड रुग्ण सूचीमा छन् । त्यस्तै अछामको सेरा–आटीचौर–थामलेक, बझाङको चैनपुर–दम्दुर–कुचा–सुर्मा र रिठापाटा–सुर्मा तथा डडेल्धुराको बगरकोट–सिराड–रुपाल सडकका ठेक्का पनि समस्याग्रस्त अवस्थामा छन् ।
कञ्चनपुरमा मात्रै ६ वटा सडक निर्माणका ठेक्का रुग्ण छन् । छत्री चौराहादेखि श्रीलंका पुल, निर्मल आर्यघाटदेखि दयाराम चोक, कृषि सडकदेखि घटाल विक–शान्तिनगर तथा बंक–पहरिया–दोमिल्लालगायत सडकका ठेक्कामा अपेक्षित काम हुन नसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि बढाएका सडकमा समेत ठेक्का व्यवस्थापनको समस्या देखिएको छ । प्रदेश गौरवका नौ वटा सडक आयोजनाअन्तर्गत १० वटा ठेक्का रुग्ण अवस्थामा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
बेलौरी–कलुवापुर–नाइल–बुडर, दैजी–लिप्ना–जोगबुडा, बुडर–जोरायल–गढसेरा–दिपायल, जयगढ–माझेठाना–रामारोशन, खप्तड–मार्तडी–भौनेरा–आटीचौर, खलंगा–खार–देथला–परिवगर र सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकका विभिन्न ठेक्का लामो समयदेखि अघि बढ्न सकेका छैनन् ।
मन्त्रालयले पटक–पटक म्याद थप्दा पनि काम नभएका र लामो समयदेखि आयोजना अलपत्र परेका ठेक्कालाई रुग्ण ठेक्काको सूचीमा राखेको जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले अधुरा तथा रुग्ण आयोजनाको अवस्था अध्ययन गरी अघि बढाउने वा ठेक्का तोड्ने विषयमा आफूले मन्त्रीको जिम्मेवारी सम्हालेकै दिन निर्णय गरेको बताए । उनका अनुसार त्यसका लागि गठन गरिएको समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।
‘आयोजना बजेट अभावका कारण रोकिएको हो भने चालु आर्थिक वर्षमै आवश्यक बजेट व्यवस्थापन गरेर सम्पन्न गर्ने प्रयास हुन्छ । निर्माण व्यवसायीको कमजोरी देखिए कानुनी प्रक्रिया पूरा गरेर कारबाही गर्छौं र आयोजनालाई नयाँ प्रक्रियाबाट अगाडि बढाउँछौँ’, उनले भने ।

















