अत्तरिया– कैलालीको अत्तरियामा आयोजित सैनीक आवासिय महाविद्यालय इन्टर स्कुल क्विज प्रतियोगिता सम्पन्न भएको छ । कैलालीका २१ र कञ्चनपुरका १८ विद्यालय गरी ३९ विद्यालयका ११७ जना विद्यार्थी सहभागी रहेको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

विभिन्न चरण तथा राउन्डमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा आयोजक सैनिक आवासीय महाविद्यालय तेघरी प्रथम भएको छ । प्रथम भएको महाविद्यालयले नगद रु. १५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा द्धितिय स्थान हासिल गरेको इन्टरनेसनल पब्लिक स्कुल महेन्द्रनगर कञ्चनपुरले नगद रु. १० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै कञ्चनपुरकै मेधावी सेकेन्डरी स्कुलले तृतिय स्थान हासिल गर्दै रु. ५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगिताको समापन गर्दै सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति एवं सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका सञ्चालक समिति अध्यक्ष उपरथी पवन कुमार खत्रीले विद्यार्थीहरूको ज्ञान, प्रतिभा, तर्कशक्ति र आत्मविश्वास विकासका लागि क्विजजस्ता बौद्धिक प्रतियोगिताहरू महत्वपूर्ण हुने बताएका छन् । उनले विद्यार्थीहरूलाई नियमित अध्ययनसँगै अतिरिक्त बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिए । उपरथी खत्रीले सहभागी विद्यार्थी तथा विद्यालयहरूलाई शुभकामना समेत व्यक्त गरेका थिए ।
सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका प्रिन्सिपल सिद्धेश्वर पन्त प्रकाशको सभापत्विमा आयोजित कार्यक्रमको उद्घाटन कैलाली जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख जीवन न्यौपानेले गरेका थिए । मन्तव्यका क्रममा न्यौपानेले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने बताए । उनले सहभागी सबै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सैनिक श्रीमती संघकी सल्लाहकार तथा समारोह उपसमिति सल्लाहकार कल्पना बुढाथोकी खत्री, चैतन्य पाठशालाका सीईओ गणेश प्रसाद जोशी, सत्यवती एकेडेमी अत्तरियाका सीईओ वीरबहादुर खडायत, एभरेस्ट एकेडेमी अत्तरियाका प्रिन्सिपल शिवराज जोशी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका संयोजक एवं सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीका इसिए विभाग प्रमुख इन्द्रबहादुर सिंहले प्रतियोगिताको उद्देश्य, सहभागिता तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन महाविद्यालयका शिक्षक खगेन्द्र प्रसाद कलौनीले गरेका थिए ।


















