अत्तरिया – कैलालीको अत्तरियामा नापतौलका यन्त्रहरु जाँच गर्नका लागि शिविर आयोजना गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघ सँगको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय कैलालीले शिविरको आयोजना गरेको हो ।

शिविरमा नापतौलका यन्त्रहरुको नयाँ अनुमती पत्र तथा जाँच नविकरण भैरहेको संघका अध्यक्ष कमल कडायतले जानकारी दिए । उनका अनुसार मंगलबार बाट सुरु भएको शिविर असोज २ गतेसम्म सञ्चालन हुनेछ । संघकै हलमा सञ्चालन भैरहेको शिविरमा व्यवसायीहरुले नापतौलका सामानहरु चेकजाँच गराईरहेको उनले बताए ।

गुणस्तर तथा नापतौल कार्यालय धनगढीका सहायक निरिक्षक चुडामणी जोशीले गोदावरी नगरपालिका अन्तरगतका बजार क्षेत्रमा नापतौलका यन्त्रहरुको जाँच गरिने बताए । उनले २ गतेसम्म यन्त्रहरुको जाँच गर्ने कार्य गरिने र त्यसपछि २ दिन अनुगमनको कार्य गरिने बताए । उनका अनुसार नापतौलका यन्त्रहरुको जाँचका क्रममा कुनै किसिमको समस्या आएको छैन ।
उनले बजारमा नापतौलको समस्याको विषयमा कुनै पनि ग्राहकहरुको गुनासो नआएपनि गुणस्तर तथा नापतौल कार्यालयले नियमित रुपमा यन्त्रहरुको चेकजाँचको लागि शिविर सञ्चालन गर्दै आएको बताए ।
















