खाेज्नुहाेस

कैलालीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

Image

कैलाली – कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो शंका लागेर चेकजाँच गर्ने क्रममा घोडाघोडी नगरपालिका–२ बस्ने ३६ वर्षीय कृष्ण चौधरीको साथबाट ५१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

यस्तै, सोही स्थानबाट गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा ७५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भजनी नगरपालिका–८ बस्ने ३३ वर्षीय देवेन्द्र शाही र अछामको साँफेबगर नगरपालिका–१० बस्ने ३० वर्षीय अनिल भुल रहेका छन्। उनीहरू से.६ प ३६६२ र भे.३ प ९४८४ नम्बरका मोटरसाइकलमा सवार रहेका बेला प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।