खाेज्नुहाेस

सुदूरपश्चिम सरकारद्धारा नौ वर्षमा चार हजार ६०४ किलोमिटर सडक निर्माण

Image

धनगढी – सुदूरपश्चिममा प्रदेश सरकार गठन भएयता भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ हजार ६०४ किलोमिटर सडक निर्माण गरेको छ । मंगलबार मन्त्रालयले २०७४/७५ देखि आर्थिक वर्ष २०८२/८३ सम्मको प्रगति विवरण सार्वजनिक गरेको गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाटले प्रगति विवरण सार्वजनिक गर्दै प्रदेशभर एक हजार १६ किलोमिटर सडक कालोपत्रे, एक हजार ५८४ किलोमिटर ग्राभेल र दुई हजार ४५ किलोमिटर कच्ची सडक निर्माण भएको जानकारी दिए ।

attariya hospital

मन्त्री भाटले मन्त्रालयको श्वेतपत्रसमेत सार्वजनिक गर्दै ९ वर्षको अवधिमा सडक तथा पुल, सिँचाइ, खानेपानी, आवास, सहरी विकास र यातायात व्यवस्थापनका क्षेत्रमा भएका प्रगति प्रस्तुत गरेका हुन् ।

navjiwan hospital

उनकाअनुसार प्रदेश सरकारबाट अहिलेसम्म ११० वटा पुल निर्माण भएका छन् । तीमध्ये ६९ वटा मोटरेबल पुल र ४१ वटा झोलुङ्गे पुल छन् ।

मन्त्रालयले २०७४/७५ देखि २०८२/८३ सम्म कुल ८८ अर्ब ७३ करोड ४० लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ६४ अर्ब ७९ करोड ४३ लाख ८१ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । मन्त्रालयको समग्र वित्तीय प्रगति ७३.०२ प्रतिशत रहेको छ ।

तर पूर्वाधार निर्माणको गति र गुणस्तरमा प्रश्न उठ्ने अवस्था पनि देखिएको छ। मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका १९३ बहुवर्षीय आयोजनामध्ये १२९ वटाको भौतिक प्रगति ५० प्रतिशतभन्दा कम छ। त्यसमध्ये ३१ आयोजना निर्माण व्यवसायीको ढिलासुस्ती तथा विभिन्न प्राविधिक समस्याका कारण रुग्ण अवस्थामा पुगेका छन्।

खानेपानीतर्फ पनि प्रदेशको लगानीअनुसार उपलब्धि चुनौतीपूर्ण देखिएको छ। मन्त्रालयका अनुसार प्रदेश सरकारले लगानी गरेका करिब १ हजार १५० खानेपानी आयोजना अझै अधुरा छन्। यद्यपि नौ वर्षको अवधिमा १ हजार ४४८ खानेपानी आयोजना सम्पन्न गरी ५ लाख ७१ हजार ८५ जनालाई प्रत्यक्ष लाभ पुर्‍याइएको छ।

सिँचाइतर्फ सतह सिँचाइबाट ३३ हजार २४६ हेक्टर र भूमिगत सिँचाइबाट ४ हजार ९६५ हेक्टर क्षेत्रफल लाभान्वित भएको छ। नदी नियन्त्रणका लागि ५२० किलोमिटर तटबन्ध निर्माण गरी ५ हजार २५ हेक्टर जग्गा उकास गरिएको मन्त्रालयले जनाएको छ।