खाेज्नुहाेस

थारू समुदायमा अट्वारी पर्वको रौनक

Image

धनगढी – प्रकृति पूजक थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ । सूर्यदेवताको उपासना गर्दै यस समुदायका मानिसले आइतबारदेखि दुई दिनसम्म अट्वारी पर्व मनाउने गर्छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । पानीसमेत नखाई निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको छ ।

सूर्यले ताप, शक्ति र उज्यालो दिने भएकाले अट्वारी पर्वमा सूर्यदेवताको पूजा गरेमा सुख, शान्ति र दीर्घजीवन प्राप्त हुने विश्वास छ । अट्वारी पर्व मनाउनुको एउटा कारण महाभारतसँग पनि जोडिएको बताइन्छ । पाँच पाण्डवमध्येका माइला भाइ भीमले अप्ठ्यारोमा परेकी थारू चेलीलाई सहयोग गरेका कारण भीम अर्थात् भेँवाको पूजाआराधना गरेर अट्वारी मनाउने गरिएको किंवदन्ती छ ।

attariya hospital
navjiwan hospital

यसैगरी, थारू राजा दङ्गीशरणलाई पाँच पाण्डवमध्येका भीमले लडाइँमा सहयोग गरेका कारण भीमको सम्झनामा थारू समुदायले अट्वारी पर्व मनाउन थालेको अर्को किंवदन्ती पनि छ । यो पर्वमा मध्यरातमा भिन्सर्या भात (दर) खाएपछि पर्वको पहिलो दिन आधा दिनसम्म निराहार व्रत बस्ने चलन छ । व्रतालुले दिउँसोतिर नुहाइधुवाइ गर्ने र अग्यारी (गुइँठाको आगो) बालेर विधिपूर्वक पूजा गर्ने गरेका छन् ।

व्रतालुले पूजाआजा गरेपछि मात्रै जल ग्रहण गर्नुका साथै अनदीको रोटी, फलफूल र दूध खाने चलन रहेको छ । पर्वको दोस्रो दिन पनि व्रतालुले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका विभिन्न परिकार खाने चलन छ । यस दिन खरिया, फूलौरी, खुर्मा, माछा, मासुलगायत परिकार खाने गरिन्छ ।
यस दिन बिहान अन्न ग्रहण गर्नुलाई ‘फरहार’ भन्ने गरिन्छ । खानुभन्दा अगाडि सबै परिकारको एक भाग विवाहित दिदीबहिनी वा छोरीका लागि छुट्टै राखिन्छ । यसरी परिकार छुट्याएर राखेपछि मात्रै व्रतालुले खाने चलन छ ।

अनदीको रोटीसहित खानाका सबै परिकार विवाहित छोरीचेलीलाई पर्वको उपहारका रूपमा दिने गरिन्छ । यसलाई ‘अग्रासन’ भनिन्छ । विवाहित चेलीबेटी यो पर्वमा अग्रासनको पर्खाइमा बस्ने भएकाले कतिपयले आफ्ना दिदीबहिनी वा चेलीका लागि व्रत बस्ने गरेको बताइन्छ ।