धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले अटवारी पर्वको शुभकामना व्यक्त गरेका छन् । आईतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले थारु समुदायले परम्परागत रुपमा मनाउदैँ आएको अटवारी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

सन्देश मार्फत उनले अटवारी पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरे । उनले पर्वले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा थप ऊर्जा मिल्ने कामना समेत व्यक्त गरे ।

‘थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको पवित्र एवं महत्वपूर्ण अटवारी पर्वको सुखद अवसरमा थारू समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वस्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।
अटवारी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायले मनाउने धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्व भदौ महिनामा, कृष्ण जन्माष्टमीपछिको आइतबार मनाउने परम्परा छ भने कतिपय ठाउँमा कुशेऔँसीपछिको पहिलो आइतबारलाई अटवारी भनेर विशेष रुपमा मनाइन्छ ।



















