धनगढी – वादी समुदाय उत्थान विकास समिति, सुदूरपश्चिम प्रदेशको दोस्रो कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा सम्पन्न अधिवेशनबाट पुष्कर वादीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण वादी, महासचिवमा रमेश गन्धर्व वादी, कोषाध्यक्षमा कमला वादी र सचिवमा मिना वादी चयन भएका छन्।


त्यस्तै कार्यसमिति सदस्यहरूमा पूजा वादी, खडक दास, रेखा कमाल, प्रेम वादी, पदम दमाई (वादी), बुँदेवादी र मुना वादी रहेका छन्। कार्यसमितिमा कैलाली, कञ्चनपुर ,डोटी, अछाम ,बैतडी, दार्चुला जिल्लाबाट प्रतिनिधित्व भएपनि डडेलधुरा,बझाङ ,बाजुरा जिल्ला प्रतिनिधिहरूलाई नाम पछि समावेश गरेर पूर्ण समिति बनाइने नवनिर्वाचित अध्यक्ष पुष्कर वादीले बताए ।
नवनिर्वाचित अध्यक्ष पुष्कर वादीले वादी समुदायको हक, अधिकार, उत्थान र विकासका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सम्पूर्णलाई मिलाएर लैजान्छौँ। समुदायको हित र अधिकारका लागि एकताबद्ध भएर काम गर्नेछौँ।”
अध्यक्ष वादीले वादी समुदायका शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा आर्थिक सशक्तीकरणका विषयलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग समन्वय गर्दै अघि बढ्ने बताएका छन।
नवनिर्वाचित समितिले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका वादी समुदायका समस्यालाई पहिचान गरी समाधानका लागि पहल गर्ने तथा समुदायको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउन योजनाबद्ध रूपमा काम गर्ने जनाएको छ।



















