कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित भन्सार कार्यालय नजिकबाट भन्सार छली गरी भारतबाट ल्याइएका सामानसहित नौ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी १ लाख रुपैयाँ बराबरको चिनी, दाल, खाने तेल, सोनपापडी तथा अन्य किराना सामान फेला पारी नौ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–१० की ३२ वर्षीया ज्योती डगौरा, २४ वर्षीया सोनु डगौरा र २० वर्षीया नेहा चौधरी, भीमदत्त नगरपालिका–२ की ३५ वर्षीया तारा कुँवर र ४० वर्षीया भावना चन्द, भीमदत्त–८ की ३५ वर्षीया लक्ष्मी नेपाली, तथा भीमदत्त–१९ की २४ वर्षीया पशुपती धामी, ४० वर्षीया बिमला चन्द र ३५ वर्षीया मिना धामी रहेका छन्।
प्रहरीले बरामद सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुर पठाएको जनाएको छ।


















