खाेज्नुहाेस

जेनजी आन्दोलनकाे एक वर्ष : कैलालीमा क्षतिग्रस्त सबै कार्यालयबाट सेवा सुचारु

Image

धनगढी –  गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कैलालीका सबै सरकारी कार्यालयबाट सेवा प्रवाह पूर्ववत् रूपमा सञ्चालनमा आएको छ । मर्मतसम्भार तथा आवश्यक पुनर्निर्माणपछि कार्यालयहरूले नियमित सेवा दिन थालेका हुन् ।

आन्दोलनका क्रममा कैलालीमा सरकारी तथा गैरसरकारी गरी १३७ वटा भवनमा आगजनी र तोडफोड भएको थियो । तीमध्ये १०३ वटा सरकारी कार्यालयका भवन, १७ वटा राजनीतिक दलका पार्टी कार्यालय, १२ वटा सर्वसाधारणका निजी भवन र पाँच वटा प्रहरी कार्यालय रहेका थिए ।

attariya hospital
navjiwan hospital

आगजनी तथा तोडफोडबाट गम्भीर क्षति पुगेका ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने ठहर गर्दै रातो स्टिकर टाँसिएको थियो । केही कार्यालयमा संरचनागत क्षति भए पनि वैकल्पिक व्यवस्था तथा मर्मतसम्भारमार्फत सेवा सञ्चालनलाई निरन्तरता दिइएको थियो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार क्षतिग्रस्त सरकारी कार्यालयहरूको मर्मतसम्भार तथा आवश्यक पुनर्निर्माण गरिएपछि अहिले सबै कार्यालयबाट नियमित रूपमा सेवा प्रवाह भइरहेको छ ।

उनले भने , “संरचनाकै अभावमा अहिले कुनै पनि कार्यालयको सेवा प्रभावित छैन ।” यद्यपि, सबै सरकारी कार्यालय भौतिक रूपमा भने पूर्णरूपमा पूर्ववत् अवस्थामा फर्किन बाँकी छन् । कतिपय भवनको पुनर्निर्माण तथा संरचनागत सुधारको काम अझै जारी रहेको छ ।”

सरकारी कार्यालयबाट सेवा प्रवाह नियमित भए पनि आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाको पूर्ण पुनर्निर्माण सम्पन्न गर्न भने थप समय लाग्ने देखिएको छ ।