खाेज्नुहाेस

वर्षाका कारण आएको पहिरोले बाजुरामा सडक र विद्युत् अवरुद्ध

Image

बाजुरा– लगातार परिरहेको वर्षाका कारण आएको पहिरोका कारण बाजुराको सडक र विद्युत अवरुद्ध बनेको छ । शनिबार रातीदेखी निरन्तर परिरहेको वर्षाका कारण आएको पहिरोले जिल्लाका विभिन्न ठाउँमा सडक अवरुद्ध गर्नुका साथै विद्युत सेवा समेत अवरुद्ध गरेको हो ।

पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital
navjiwan hospital

दुई दिनदेखि सडकखण्ड अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका यातायात ठप्प छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार अवरुद्ध सडकखण्ड सुचारु गर्न आइतबार नै जेसीबी प्रयोग गरेर पहिरो पन्छ्याउने काम सुरु गरिएको थियो । तर दिउँसोबाट पुनःभारी वर्षा सुरु भएपछि रोकिएकोमा सोमबार बिहानबाटै सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर लगाएर सडक खोल्ने कार्य भइरहेको भाटले बताए ।

शनिबार राति अविरल वर्षापछि पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । अवरुद्ध विद्युत् सेवा मर्मतका लागि आईतबारदेखि नै प्राविधिकको टोली त्यस क्षेत्रमा खटिएको कार्यालयले जनाएको छल। अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत् सञ्चालनमा छ ।

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले अवरुद्ध सडक सुचारु गर्न राप्काबाट सडक विभागका दुई वटा मेसिन लगाएर मर्मत कार्य भइरहेको बताए । विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराबाट प्राविधिक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीको टोली खटिएको उनले बताए ।