कञ्चनपुर – भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका रसुवाको टिमुरेस्थित भन्सारका कर्मचारीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ का नरेशदत्त जोशीको शनिबार महाकाली नदीमा दाह संस्कार गरिएको हो ।

रसुवाको टिमुरे भन्सारका कार्यालय सहयोगी जोशीको परिवारले बाढी आएको ११ दिनसम्म पनि केही पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । जोशीका छोरा दिपेश जोशीले कुशको पुत्लामा दागबत्ती दिए ।

‘बाढी आएको पनि धेरै दिन भयो, कतैबाट केही सम्पर्क नभएपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुग्यौं,’ जोशीका ज्वाइँ टीका भट्टले भने, ‘खोजीका लागि बाढी प्रभावित क्षेत्रमा पनि पुग्यौं, तर उहाँबारे कुनै सूचना पाइएन ।’ जोशी परिवार खोजीका लागि करिब १० दिनसम्म बाढी प्रभावित क्षेत्रसँगै भन्सार विभाग र काठमाडौं शिक्षण अस्पतालमा समेत पुगेको थियो ।
जोशी दुई वर्षदेखि टिमुरे भन्सारमा कार्यरत थिए । कृष्णनगर भन्सारबाट सरुवा भएर टिमुरे पुगेका हुन् । बाढी आएका दिन पनि बिहान परिवारसँग फोन सम्पर्क भएको थियो । बाढी आएपछि फोन सम्पर्क हुन छाडेको हो । त्यसपछि उनीबारे कुनै सूचना नपाइएको भट्टले बताए ।

















