कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका –१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको छ । हाल पहिरो आउनेक्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्यायद्वारा जारी सूचनामा सो सम्बन्धी घटना घटेमा वा उद्धारको आवश्यकता परेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनको सम्पर्क नम्बरमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दार्चुलाको चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट जोगिन र धनजनको क्षति न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा जारी सूचनामा उल्लेख छ ।

















