कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ५ ले यस बर्ष तीज मनाउने कार्यक्रमको खर्च भोटेकोशीको बाढीबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । वडाकार्यालयले बर्सेनी तीजका अवसरमा मनाउदै आएको कार्यक्रम यस वर्ष नमनाउने र सो कार्यक्रममा खर्च हुने रकम बाढी प्रभावितहरुका लागि सहयोग गर्ने जनाएको हो ।

वडा कार्यालयले बाढीका कारण देशमा भएको ठूलो धनजनको क्षतिका कारण यसवर्ष शोकका रुपमा तीज कार्यक्रम नगर्ने निर्णय गरेको वडाध्यक्ष पदमराज अवस्थीले बताए । उनले तीज कार्यक्रम नमनाउने निर्णय भएपछि सो कार्यक्रमका लागि विनियोजीत बजेट बाढी प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरिएको बताए ।

वडाध्यक्ष अवस्थीको अध्यक्षतामा बसेको बैठकले तीज कार्यक्रमको खर्च भोटेकोसी बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । बैठकमा सबै वडा सदस्य र वडा सचिव सहभागी थिए । सहयोग रकम प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा जम्मा गरिएको छ । वडा अवस्थीले आफूले पनि व्यक्तिगत रुपमा भोटेकोसी बाढी पीडितलाई सहयोग गरेका छन् ।


















