धनगढी – कैलालीमा अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ मोतीचोकबाट १८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित धनगढी–१५ का २२ वर्षीय राधेश्याम चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बिहीबार दिउँसो शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलबाट १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी–८ का १९ वर्षीय प्रबत चौधरी, कैलारी गाउँपालिका–५ का २० वर्षीय सुजित चौधरी र सोही ठाउँका ४२ वर्षीय श्यामबहादुर चौधरी रहेका छन्। उनीहरूलाई बिहीबार बेलुकी शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


















