टीकापुर – भोटेकोशीमा आएको बाढीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाएका यहाँका मानिस आफन्त खोज्न भन्दै काठमाडौँतिर हिँड्न थालेका छन् । जानकी गाउँपालिकाबाट हराएका चार जनाको खोजीमा हरेक परिवारबाट दुई जना र एक जना बरघर (गाउँका अगुवा) गरी नौ जनाको टोली काठमाडौँ हिँडेको छ । आफन्त बेखरको पीडाले छट्पटिएका परिवारका सदस्यले खोज्न निस्कन्छु भनेपछि एक हप्ताको खाना र यातायातको व्यवस्था गरेर पठाएको गाउँपालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले एक हप्ताका लागि गाडी खोजेर काठमाण्डौै पठाएको बताए । उनले भने ‘खाना खर्च उहाँहरू आफैँले जुटाउनुहुन्छ । उहाँहरू फर्केपछि लागेको यातायात र खाना खर्च पालिकाको विपत् व्यवस्थापन कोषबाट तिर्ने छौँ ।’ मङ्गलबार यहाँबाट हिँडेको टोली बुधबार बेलुका काठमाडौँ पुगेको बरघर रामकृष्णी चौधरीले बताए ।


यसअघि टीकापुर नगरपालिका–१, समितिपुरबाट आफन्त खोज्न गएका बरघर अखिल थारूले पाँच दिनदेखि नुवाकोटको बटारमा बसिरहेको बताए । उनले भने ‘रसुवा जाने बाटो छैन बटारमा पुगेर हेलिप्याड नजिकै बसेका छौं । हेलिकोप्टर आएपछि गएर हेर्ने, कोही आफन्तको उद्धार भयो कि भनेर सुन्ने कोठा फर्केर बस्ने काम भइरहेको छ ।’
दाजु मानबहादुर रसुवामा हराएपछि अखिल र छिमेकी विखराम चौधरी त्यता गएका थिए । टीकापुर नगरपालिकाको विपत् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जान चाहनेलाई यातायात खर्च बेहोर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने भन्दै आफन्त सम्पर्कविहीन भएकाले मङ्गलबार टीकापुर नगरपालिका पुगेरै अनुरोध गरेका थिए । टीकापुर नगरपालिकाको समितिपुर, एकतापुर, भूपू कमैया बस्ती, मनिकापुर, ज्योतिनगर लगायतका क्षेत्रबाट ३४ जनाभन्दा बढी कामदार कर्मचारी सम्पर्कविहीन छन् ।



















