धनगढी– धनगढीबाट प्रहरीले ५ लाख भारतिय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ । बुधबार राती करिब ९ बजे घरेलु कार्यालय अगाडीबाट ५ लाख भारतिय रुपैया सहित भारतका अमरेन्द्र सिँहलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय सुशीला नाम बताउने महिलाका अनुसार ती व्यक्तिले आफू आत्तिएको भन्दै ‘मेरो पछाडि मान्छे लागेका छन्, मलाई अप्ठ्यारो छ, प्रहरीकहाँ पु-याइदिनुस्’ भनेर आग्रह गरेका थिए । त्यसपछि उनलाई घरेलु चोक अगाडि पु¥याइएको र त्यहीँबाट प्रहरीलाई खबर गरिएको उनले बताइन् । केही समयपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।


पक्राउ पर्ने भारतीय नागरिकले नै आफ्नो नाम अमरेन्द्र सिंह भएको बताएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी धनगढीस्थित साथी होटलमा रहेको किङ्स लाउन्ज क्यासिनोबाट बुधबार साँझ निस्किएका थिए । क्यासिनोबाट बाहिरिएपछि आफूलाई एक जना व्यक्तिले पछ्याएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले अमरेन्द्र सिंहको साथबाट ५ लाख भारतीय रुपैयाँ भेटिएको पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै विस्तृत विवरण सार्वजनिक हुने उनले जानकारी दिए ।
घटनाले नेपाल–भारत सीमा हुँदै ठूलो परिमाणमा भारतीय रुपैयाँ नेपाल भित्रिने विषयमा समेत प्रश्न उठाएको छ । सीमा क्षेत्रमा भारतीय मुद्रा बोकेर नेपाल प्रवेश गर्ने सम्बन्धमा तोकिएको सीमाभन्दा निकै ठूलो रकम ५ लाख भारु कसरी धनगढी आइपुग्यो भन्ने विषय अब प्रहरी अनुसन्धानको दायरामा परेको छ ।
पक्राउ परेका भारतीय नागरिकको साथमा भेटिएको रकमको स्रोत, नेपाल प्रवेश गर्दाको अवस्था, क्यासिनोसँगको कारोबार तथा उनलाई पछ्याउने भनिएको व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको वास्तविकता प्रहरी अनुसन्धानपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।



















