कञ्चनपुर – कञ्चनपुरमा केही समयअघि यस वर्षकै सबैभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुर जिल्लाको सुन्दरपुरस्थित मौसम मापन केन्द्रमा ९२.७ मिलिमिटर वर्षा भएको छ । महाशाखाले अझै पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिमका पहाडी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा भारी वर्षाका कारण महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले बनबासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ५५ हजार २०० चौरासी क्युसेक पुगेको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइदै आएको छ ।


















