घोडाघोडी – कैलालीको घोडाघोडीमा रहेका विद्यालयहरुले खाजा खर्चको रकम बाढीपीडितलाई सहयोग गरेका छन । उक्त क्षेत्रमा रहेका बिभिन्न विद्यालयहरुले दैनिक खाजा खर्चका लागि ल्याएको रकम संकलन गरेर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन । घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययनरत् विद्यार्थीले खाजा खर्चको रकम बाढीपीडितलाई सहयोग गरेका छन । बुधबार बिहान खाजा खान ल्याएको पैसा राहत कोषमा जम्मा गरेका हुन ।

त्यसैगरि घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च बाढीपीडितका लागि छुट्याएका छन् । कक्षा १० मा अध्ययनरत रोहन सापकोटाका अनुसार आफ्नो सेक्सनका विद्यार्थीहरूले खाजा खान ल्याएको रकम एकमुष्ट जम्मा गरी राहत कोषमा पठाउन कक्षा शिक्षकलाई हस्तान्तरण गरेको बताए ।

त्यसैगरि, घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि स्वतःस्फूर्त रूपमा खाजा खर्च बचाएर राहत संकलन अभियान सञ्चालन गरेका छन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले मंगलबार बाढीपीडितका लागि रकम जम्मा गरेका हुन् । कक्षा १२ मा अध्ययनरत् स्काउट ईकाई कमिटीका संयोजक विमल छेडालले शिक्षकबाट स्वतःस्फूर्त सहयोगका लागि आह्वान भएपछि आफूहरू रकम संकलनमा जुटेको बताए ।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश बिनाडीका अनुसार विद्यार्थीहरूले पूर्णतः स्वतःस्फूर्त रूपमा खाजाका लागि ल्याएको एकदिनको खाजा खर्च रकम राहतका लागि जम्मा गरेका हुन् । मंगलबार मात्रै विद्यार्थीहरूले ३२ हजार २२५ रुपैयाँ संकलन गरेका थिए । संकलित रकम सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उनले बताए ।


















