कञ्चनपुर – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुरले १ लाख ८६ हजार ७ रुपैयाँ सहयोग गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै नागरिकको जनजीवनमा गम्भीर असर परेको भन्दै संघले दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम संकलन गरेको हो ।

एनएनएसडब्ल्यूए कञ्चनपुरका कार्यसमिति पदाधिकारी तथा कर्मचारीबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संघले जनाएको छ ।
एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले संघका अनुसार संकलित रकम बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा प्रयोग गर्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको बताए । उनले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरिएको बताए ।

संघले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको जनाएको छ । संघले विपद्को कठिन अवस्थामा प्रभावित समुदायप्रति एक्यबद्धता जनाउँदै सहयोग, सहकार्य र मानवीय सेवाको भावनालाई निरन्तरता दिन संघ–संस्था, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार तथा आम नागरिकलाई समेत आग्रह गरेको छ ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न संघ–संस्था तथा निकायले सहयोग गरिरहेका छन् ।



















