सन्ताेष पन्त, बेलौरी – लामो समयदेखि भारतीय पक्षको अवरोधका कारण बन्न नसकेको कञ्चनपुरकाे बेलौरी छोटी भन्सार देखि खजुरिया जाने सडक ग्राभेल (पानी पिच) गरिएको छ । सोमबार बेलौरी नगरपालिकाले खजुरिया बजार जाने बाटोमा पर्ने सीमा सुरक्षाकर्मी बल (एसएसबी) को चेक पोस्टसम्म करिब ५० मिटर सडक पानी पिच गरेको हो ।
यसअघि त्यहाँ ठुलो खाल्डो परेको हुँदा पानी जम्मा हुने गरेको थियो । जसका कारण आवतजावतमा निकै समस्या परिरहेको थियो । उक्त सडक निर्माणका लागि पटक पटक पहल गरिए पनि भारतीय पक्षबाट अवरोध गरिँदै आएको थियो । एसएसबीले दशगजामा पर्ने भन्दै सडकमा काम गर्न रोक्ने गरेको थियो । यस पटक भने भारतीय पक्ष सँगको सहरीकरणमा सडक पानी पिच गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । ‘हामीले दुई पक्ष बिच समन्वयन गरेर काम गरिएको हो’ उनले भने ‘दशगजा क्षेत्र भएकाले हामीले गृह मन्त्रालय सँगै सहजीकरण गरेर काम अघि बढाएका हौ ।’


बेलौरी नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले सडकमा करिब १५० घन मिटर ग्राभेल हालिएर रोलिङ गरिएको बताए । उनले सडक मर्मतको आवश्यकतालाई मध्य नजर गर्दै नेपाल सरकारको तर्फबाट गृह मन्त्रालय मार्फत समन्वय भई दुवै देशका जिल्ला प्रशासन कार्यालयको समझदारीमा एसएसबीले सडक मर्मत गर्न अनुमति दिँदा काम गर्न सकिएको बताए ।
यसअघि सो क्षेत्रमा कञ्चनपुर १ का सांसद जनक सिंह धामी, प्रमुख जिल्ला अधिकारी मदन कोइराला, उद्योग वाणिज्य संघका पदाधिकारी ,स्थानीय अगुवा व्यक्तिहरूले अनुगमन गरेका थिए ।

खजुरिया बजार भारतको लखिमपुर खिरी जिल्लाको प्रमुख बजार हो । यहाँ बेलौरीबाट स्थानीयहरू किनमेल गर्न जाने गरेका छन् । बजार जाँदै गर्दा चेक पोस्ट नजिक नेपाल तर्फ ठुलो खाडल परेको थियो ।


बर्सातमा पानी जम्मा हुँदा त्यहाँ आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । नेपालतर्फ कै जमिनमा सडकमा ठुलो खाडल परे पनि भारतीय एसएसबीले अवरोध गर्दै आएका थिए ।
जस लिने होडबाजी
वर्षौँदेखि रोकिएको सडक मर्मत भएपछि जस लिनेको भने होडबाजी चलेको छ । जुन कुरा पछिल्लो समय सामाजिक सञ्चालनमै छताछुल्ल देखिन थालेको छ । सडक बनेपछि कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनक सिंह धामीका स्वकीय सचिवले सांसदको पहलमा सडक बनेको भन्दै पोस्ट गरेका छन् भने बेलौरीका उपप्रमुख जोगराम चौधरीले जस लिनेले कामको भुक्तानी गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल मार्फत व्यङ्ग गरेका छन् । ग्राभेल हालिरहेको तस्बिर सार्वजनिक गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख चौधरीले लेखेका छन् ‘बेलौरी नगरपालिका द्वारा छोटी भन्सार देखि भारतको नो मेन्स सम्म मर्मत कार्य जारी, कसैले जनतालाई भ्रम पार्ने कार्य गर्छ भने सो कार्यको भुक्तानी सोही व्यक्ति ले नै गर्नु पर्छ ।’

यसअघि सांसदका स्वकीय सचिव पदम जोशीले फेसबुकमा पोस्ट गर्दै धामीलाई धन्यवाद दिएका थिए । उनले जनताको लामो समयदेखिको समस्यालाई सम्बोधन गर्दै सम्बन्धित निकायसँग पहलकदमी गरी काम अघि बढाउनु भएको भन्दै धामीलाई धन्यवाद दिएका छन् । उनीहरूले गरेका पोस्टहरूमा धेरैले जन लिन होडबाजी गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । त्यस्तै केहीले बेलौरी उद्योग वाणिज्य संघबाट दुवै देशका सुरक्षा निकायहरूबिचको आपसी समन्वयमा सडक मर्मत भएको समेत बताइरहेका छन् ।
हुलाकीको अवरोध कायमै
५० मिटर सडकको जस लिने होडबाजी चलिरहँदा एसएसबीले नै अवरुद्ध गरेको बेलौरी नगरपालिका ८ खप्टी पुल देखि पचुइसम्मको करिब डेढ किलोमिटर हुलाकी सडकको काम भने अझै सुरु हुन सकेको छैन ।

यो सडक पटक पटक निर्माणको लागि प्रयास गर्दा एसएसबीले आफ्नो भूभाग गर्दै अवरोध गर्दै आएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले भने हुलाकी सडकको समस्या पनि समाधान गर्नका लागि फिल्ड सर्वेक्षण टिमले काम गर्ने बताए । उनले मंसिर सम्ममा दुवै पक्षको टिम आएर समस्या समाधान गर्ने कुरा भएको बताए ।

















