खाेज्नुहाेस

स्वामीकार्तिक खापरमा भाइरल ज्वरोको प्रकोप, विद्यालय बन्द

Image

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भाइरल ज्वरो फैलिएपछि स्थानीय प्रभावित भएका छन् । दुषित खानेपानीका कारण वडा २ का बिभन्न बस्तीमा ज्वरोको प्रकोप देखिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारसबहादुर शाहीका अनुसार लगातारको मौसमले खानेपानीको पाइप बगाएपछि दुषित खोलाको पानी प्रयोग हुन थालेपछि उक्त वडाका वारिबगर, घट्ट, छुद्वरी तथा बालुवा बस्ती भाइरल ज्वरोबाट प्रभावित बनेको बताए ।

navjiwan hospital

पुरै गाउँमा भाइरल ज्वरो फैलिँदा ५१ भन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । उनका अनुसार भाइरल ज्वरो फैलिएको खबरपछि गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको बताए । गाउँमा भाइरल ज्वरोबाट प्रभावित भएका ९४ जनाको उपचार गरी औषधि वितरण गरिएको छ । स्थानीयलाई ज्वरो आउने, टाउको दुख्ने, पातलो सिंगाउन बग्ने, खोकी लाग्ने, हाटजोर्नी दुख्नेलगायतका लक्षण देखा परेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।

attariya hospital

गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले वडा २ वारिबगर, घट्ट, छुद्वरी तथा बालुवा गाउँका बासिन्दा दुई सातादेखि विरामी भएको खबरपछि स्वास्थ्य शाखाको टोली खटाएर भाइरल ज्वरोको बिरामीलाई उपचार थालिएको बताए । ज्वरोबाट वडा २ छुद्वरीका ६८ वर्षीय पम्फ बुढाको मृत्यु भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । दमका बिरामी भएका कारण भाइरल ज्वरोले समेत थप प्रभावित बनेका बुढाको भदौ ६ मा निधन भएको बताए ।

भाइरल ज्वरोबाट विद्यार्थी र शिक्षक बिरामी भएपछि एक सातादेखि सोही गाउँपालिका–२ छुद्धरीमा रहेको गंगा आधारभूत विद्यालयमा पढाइ बन्द गरिएको छ । भाइरल ज्वरोबाट विद्यालयमा अध्ययनरत बालबालिका विरामी भएपछि विद्यालय नै बन्द गरिएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।