खाेज्नुहाेस

अत्तरियामा पहिलो पटक १०५ तेक्वान्दो खेलाडीको सामुहिक जुनियर ग्रेडिङ सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा पहिलो पटक १०५ जना तेक्वान्दो खेलाडीहरुको सामुहिक जुनियर ग्रेडिङ गरिएको छ । आईतबार एक कार्यक्रमका बिच सैनिक आवासिय महाविद्यालय तेघरीमा १०५ जना तेक्वान्दो खेलाडीहरुको सामुहिक जुनियर ग्रेडिङ गरिएको हो ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार विभिन्न तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरूको सामूहिक जुनियर ग्रेडिङ गरिएको सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङका प्रमुख इन्द्रबहादुर सिंहले जानकारी दिए । उनले यसअघि आ–आफ्नो डोजाङमै ग्रेडिङ हुने गरेको भएपनि पहिलो पटक सामुहिक रुपमा खेलाडीहरुको ग्रेडिङ गरिएको बताए । ‘यसअघि प्रत्येक डोजाङहरुले ३÷३ महिनामा आफ्नो डोजाङमा रहेका खेलाडीहरुको डोजाङमा ग्रेडिङ गर्ने गरेका थिए’ उनले भने ‘आज पहिलो पटक हामीले सामुहिक रुपमा खेलाडीहरुको ग्रेडिङ गरेका छौ, यसले खेलाडीहरुमा खेलप्रतिको अभिरुची र आत्मविश्वास अझै बढ्ने विश्वास लिएका छौ ।’

attariya hospital

महाविद्यालय तेक्वान्दो डोजाङले आयोजना गरेको सो ग्रेडिङ कार्यक्रममा पहिलो पटक एक भन्दा बढी डोजाङका खेलाडीहरुको सामुहिक ग्रेडिङ गरिएको हो । महाविद्यालयको कभर्ड हलमा आयोजित कार्यक्रममा विभिन्न बेल्ट तहमा रहेका १०५ जना खेलाडीहरूको सहभागिता रहेको थियो । अत्तरिया तेक्वान्दो डोजाङ, केभिएन तेक्वान्दो डोजाङ तथा सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङ लगायतका डोजाङबाट सहभागी खेलाडीहरूले ग्रेडिङमा आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

navjiwan hospital

ग्रेडिङ कार्यक्रममा खेलाडीहरूले आफ्नो बेल्ट तहअनुसारका बेसिक प्रविधि, किकिङ, पुम्से, आत्मरक्षाका विभिन्न प्रविधि तथा तेक्वान्दोका प्राविधिक पक्षहरू प्रस्तुत गरेका थिए । ग्रेडिङका लागि सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङका डोजाङ प्रमुख इन्द्रबहादुर सिंह र सुनील बिष्टले परीक्षकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन केबीएन तेक्वान्दो डोजाङका डोजाङ प्रमुख ध्रुव बोहराले गरेका थिए ।

कार्यक्रममा सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका प्रिन्सिपल सिद्धेश्वर पन्त प्रकाश, महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खीलबहादुर राना तथा राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । त्यसबाहेक कार्यक्रममा तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शिवराज भट्टराई, सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङका डोजाङ प्रमुख इन्द्रबहादुर सिंह, तेक्वान्दो प्रशिक्षक तथा परीक्षक सुनील बिष्ट, कैलाली जिल्ला तेक्वान्दो संघका पूर्वसदस्य देवराज भट्टराई लगायत तेक्वान्दोका सिनियर खेलाडी, प्रशिक्षक, अभिभावक तथा महाविद्यालयका शिक्षक–कर्मचारीहरू उपस्थिति थिए ।

कार्यक्रममा बोल्दै महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्त प्रकाशले तेक्वान्दो खेल केवल शारीरिक अभ्यास मात्र नभई अनुशासन, आत्मविश्वास, आत्मसंयम, मर्यादा र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए । उनले खेलाडीहरुले देखाएको खेल प्रतिभाको प्रशंसा समेत गरे । बालबालिकाको व्यक्तित्व विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले तेक्वान्दो जस्तो अनुशासित र मर्यादित खेलको विकासका लागि महाविद्यालयले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूलाई आवश्यक पूर्वाधार उपलब्ध गराउने उद्देश्यले सैनिक आवासीय महाविद्यालयले विभिन्न तेक्वान्दो डोजाङका खेलाडीहरूलाई सामूहिक ग्रेडिङ गर्नका लागि आफ्नो मल्टिपर्पस कभर्ड हल उपलब्ध गराएको बताएको छ ।