अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा सञ्चालित रूपान्तरणका साथी शिक्षकहरूको वार्षिक समीक्षा सिकाई आदानप्रदान तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । वल्र्डभिजन इंटरनेशनलको सहयोगमा नगरपालिका सँगको समन्वयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) मार्फत सञ्चालित एकीकृत बाल संरक्षणका लागि हातेमालो परियोजना अन्तरगत सञ्चालित रूपान्तरण कार्यक्रमको समीक्षा तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो ।
आइतबार र सोमबार गरी २ दिन सञ्चालित कार्यक्रमको कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले उद्घाटन गरेकी थिइन । उनले कार्यक्रममा बोल्दै रूपान्तरण कक्षाले बालबालिकालाई सचेत बनाउन ठुलो भूमिका खेलेको बताइन् । उनले भौतिक विकासका काम बिस्तारै गर्न सकिने भए पनि बालबालिकाको भविष्य सुधारका लागि तत्काल काम गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा सहभागी अभिभावकलाई सम्बोधन गर्दै उनले बालबालिकालाई हिंसाबाट मुक्त गर्नको लागि सबैको हातेमालो आवश्यक रहेको बताइन् । रूपान्तरण कक्षालाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक रहेको उनले बताइन् ।

नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रा तिमिल्सेनाले रूपान्तरण कक्षाले बालबालिकाको सोच सकारात्मक तर्फ ढल्किएको पाएको बताइन् । ‘हामीले ६ महिना तालिम लिएपछि सकियो भन्ने होइन । अब हामीले ६ महिनामा सिकेका कुरा व्यवहारमा उतार्नु पर्छ’ उनले भनिन् ‘आफूले सिकेका कुरा अरूलाई पनि सिकाउन आवश्यक छ । रूपान्तरण कक्षाले समाजमा कस्तो प्रभाव प¥यो भन्ने कुरा समाजमा हेरेरै थाहा हुने छ ।’

परियोजनाका संयोजक रामेश्वर जैरुले एनएनएसडब्लुएले कृष्णपुरमा चलाइरहेका विभिन्न कार्यक्रम मध्ये रूपान्तरण कक्षा एकदमै महतपूर्ण भएको बताए । उनले बालबालिकाको सर्वोत्तम हितका लागि यो कार्यक्रम एकदमै प्रभावकारी हुने बताए । ‘यस कार्यक्रममा स्वास्थ्यको कुरा हुन्छ, शिक्षाको कुरा हुन्छ,व्यक्तित्व विकासको कुरा हुन्छ, लैङ्गिक समानता, आत्म मूल्याङ्कन, आत्म समीक्षाको कुरा, आत्म आलोचनाको कुरा हुन्छ’ उनले भने ‘यस कार्यक्रमबाट एउटा बालबालिका आफ्नो भाग्य र भविष्य बनाउने कुरा यसैमा समेटिएको छ ।’

परियोजनाका बाल संरक्षण अधिकृत गणेश भुलले रूपान्तरण कक्षा कृष्णपुरको वडा नम्बर १, २, ४, ७ र ९ का ८ समूहमा सञ्चालनमा रहेको बताए । उनले प्रत्येक समूहमा २५ जना बालबालिकाको सहभागिता रहेको बताए । उनले ८ समूहमा कक्षा सञ्चालनका लागि १६ जना साथी शिक्षक रहेको बताए । ‘रूपान्तरण कक्षामा १५ वटा मोडेल छ । ती मोडेलहरूमा साथी शिक्षकहरूले विभिन्न क्रियाकलाप गरेर सिकाउने गरेका छन्’ उनले भने ‘यी मोडेल भित्र बालबालिकालाई विश्वासका पात्र को को हुन । प्रभावकारी समन्वयन कसरी गर्ने, कुनै घटना भए कहाँ सम्पर्क गर्ने लगायतमा विषयवस्तु सिकाइन्छ ।’ उनले ६ महिना सम्म सञ्चालन हुने रूपान्तरण कक्षाको अन्तिम तिर समीक्षा सँगै सिकाइ अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा साथी शिक्षक, रूपान्तरण कक्षामा सहभागी विद्यार्थी, विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रूपान्तरण कक्षाका साथी शिक्षकहरूले सिकाएका विषयवस्तु, उपलब्धि चुनौती लगायतका विषयमा प्रस्तुतीकरण राखेका थिए भने विद्यार्थी र अभिभावकले सिकाई उपलब्धि के कस्तो रह्यो भन्ने बारेमा आफ्ना धारणा राखेका थिए । रूपान्तरण कक्षामा १० देखि १२ वर्ष उमेर समूहका २ सय बालबालिका सहभागी थिए ।

बाल संरक्षण अधिकृत गणेश भूलले पहिलो चरणको रूपान्तरण कक्षा सकिएपछि पुनः यसलाई निरन्तरता दिनका लागि छलफल भइरहेको बताए । एनएनएसडब्लुएले हाल कृष्णपुरमा करिब २५ सय बालबालिकालाई समेटेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।


















