खाेज्नुहाेस

तेस्रो तहको सुविधा हुनुपर्ने माग गर्दै सुदूरपश्चिमका वन रक्षक धर्नामा

Image

धनगढी – सुदूरपश्चिमका वन रक्षकहरू सेवा–सुविधा र तह कायम गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि शान्तिपूर्ण धर्ना दिएका छन् ।

सुदूरपश्चिमका नौवटै जिल्लामा कार्यरत वन रक्षकहरू माग सम्बोधनका लागि धनगढीमा भेला भएका हुन् । बिहीबारको धर्नामा करिब ७०–८० जना वन रक्षक सहभागी भएका थिए । उनीहरूका अनुसार अन्य जिल्लाबाट समेत वन रक्षकहरू धनगढी आउने क्रम जारी छ ।

attariya hospital

वन रक्षकहरूले ‘हाम्रो श्रमको सम्मान गर, तेस्रो तहको सुविधा कायम गर’ भन्ने माग अघि सारेका छन् । उनीहरूले आफूहरूको माग आठ महिनादेखि सरकारसमक्ष राख्दै आए पनि सुनुवाइ नभएको बताएका छन् ।

navjiwan hospital

आन्दोलनका संयोजक रामसिंह धामीका अनुसार वन रक्षकलाई सहायक तेस्रो तह कायम गर्ने विषयमा लामो समयदेखि सरकारसँग छलफल हुँदै आएको छ । उनका अनुसार अन्य प्रदेशमा वन रक्षकका यस्ता माग सम्बोधन भइसके पनि सुदूरपश्चिममा भने अहिलेसम्म कार्यान्वयन भएको छैन ।

धामी कैलालीको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत सब–डिभिजन वन कार्यालय वर्दगोरियामा कार्यरत छन् । उनका अनुसार वन मन्त्रालयले सचिव भरत श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरी वन रक्षकहरूको मागका विषयमा अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन प्रतिवेदन तयार पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको भए पनि त्यसपछि प्रक्रिया अघि नबढेको वन रक्षकहरूको भनाइ छ ।

उनका अनुसार मुख्यमन्त्रीले माग सम्बोधनका लागि केही समय लाग्ने भन्दै ८–१० दिन पर्खन आग्रह गरेका थिए । तर, उक्त समय बितिसक्दा पनि माग सम्बोधनका लागि ठोस प्रक्रिया अघि नबढेपछि आन्दोलन गर्नुपरेको उनले बताए ।

वन रक्षकहरूले आफ्नो माग तत्कालै नयाँ कानुन बनाएर सम्बोधन गर्नुपर्ने नभई प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । सरकारबाट लिखित रूपमा प्रक्रिया अघि बढाउने प्रतिबद्धता आए पनि आफूहरू आन्दोलन रोक्न तयार रहेको उनीहरूको भनाइ छ । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।